व्यङ्ग्य - बन्धनको गठबन्धनमा पदकाले यसरी पड्काए पदक !

 असोज ९, २०७८ शनिबार ९:५:५२ | मिलन तिमिल्सिना
unn.prixa.net

बन्धन नै बन्धनमा गठन भएकाले देउवा सरकारको नाम गठबन्धन भएको हुनुपर्छ किनकि जे कुरामा पनि प्रधानमन्त्रीका अगाडि बन्धन नै बन्धन छन् ।

मन्त्रिपरिषद् विस्तारदेखि संसद्को अवरोधसम्मको गाँठो फुकाउन नसकेर सरकार आफैँ बन्धनमा परेको परेकै छ । गठबन्धनका नेताहरु देशलाई योगदान गर्ने मान्छेहरु खोज्नतिर लागेका छन् । जसले देशको लागि योगदान गरे, उनीहरुलाई पदक दिनुपर्ने भयो, विभूषित गर्नुपर्ने भयो । सत्ता वरपर यतिका मान्छे छन्, सबै योगदान गरेर बल्लबल्ल यहाँ पुगेका, खुरुक्क सबैलाई पदक दिए त भइहाल्थ्यो नि, किन खोज्नु पर्यो अरु ! 

देश बनाउन भनेर बनेको नयाँ सरकार, जसले सरकार बनाउन योगदान गर्यो, उही देश बनाउन योगदान गर्नेहरुमध्येमा यसै पनि पर्छ ! पदक दिनेले जान्ने हो भने यही आधारमा सबैलाई छनोट गर्नुपर्ने हो । मन्त्रिपरिषद्को भागबण्डाको काम नसकेर हैरान भएको बेला पदक पाउनेको नाम छान्ने जिम्मा दिन नपर्ने हो । तर जिम्मा आइहाल्यो । 

मन्त्रिपरिषद्को टुङ्गो त बिस्तारै लगाउँदा भइहाल्छ । नामै मन्त्रिपरिषद् विस्तार ! विस्तारको काम छिटो गर्नु भएन, विस्तारको काम गर्ने नै बिस्तारै हो ! त्यसैले नेताहरु अरु काम छोडेर पदक पाउनेहरुको नाम टुङ्गो लगाउन बसे । यसलाई दिने कि उसलाई दिने भनेर गम्भीर छलफल हुन थाल्यो।

–अरु किन खोजिरहनु पर्यो र ? हामी यति भैहाल्यौँ, अब हामीजस्तै गठबन्धनभित्र पर्ने अरु दुई चारजना थपेर दिऔँ न ।

–मेरी श्रीमतीले पनि उल्कै रहर गर्या छे । पहिले अर्को सरकार हुँदा उनीहरुले पनि आफन्त र परिवारका मान्छेलाई दिएकै हुन् क्यारे । यसपालि मेरी श्रीमतीलाई त एउटा जे भए पनि पदक दिनुपर्छ।

–मेरो बाले उबेलैदेखि लोभ गर्नुभएको, के गर्नु उतिबेला डाडुपन्यौ आफ्नो हातमा थिएन । अब अहिले डाडुपन्यौ आफ्नो हातमा भएको बेला त मेरो बाले पनि पाउनु पर्यो नि ।

–हैन तपाईँको बा, उहाँको श्रीमतीलाई के आधारमा दिने ? मान्छेले के भन्लान् ?

–कस्तो कुरा गर्या होला ? देशलाई योगदान गर्ने मजस्ता नेता जन्माउने मेरो बा । मेरो बा नभएको भए म हुन्थेँ ? अनि म नभएको भए, तपाईंहरुले खोजे र रोजेजस्तो अहिलेको गठबन्धन सरकार बन्थ्यो ? अहिलेको सरकार नबनेको भए देश कसरी चल्थ्यो ? देश चलाउन मेरो योगदान छ र मेरो योगदान मेरा बाको .....दानबाट निसृत छ । त्यसैले मेरो बा म भन्दा धेरै र ठूलो पदकको हकदार हुनुहुन्छ ।

–हो नि, मेरी श्रीमतीको कम योगदान छ ? उसले साथ नदिएकी भए म उहिल्यै डिप्रेसनमा परेर कहाँ भौँतारिएर हिँडिरहेको हुन्थेँ । मलाई यो ठाउँसम्म ल्याइ पुर्याउन मेरी श्रीमतीको अहम् भूमिका छ । श्रीमतीको कारण म बनेँ, मेरो कारण सरकार बन्यो, सरकारका कारण देश बन्दैछ । भनेपछि सोझो हिसाबले पनि पदकको हकदार म र मेरी श्रीमती हो । मैले पहिले नै पाइहालेँ, अब श्रीमतीलाई जसरी पनि मिलाउनुपर्छ ।

–मेरो सालोले झन् कम दुःख गरेको छ र ? उतिबेला काठमाण्डौको डेरामा टिक्नै गाह्रो थियो । बिचरा उसले गाउँबाट घिउ, गुन्द्रुक, चामल बोकेर ल्याउँथ्यो । उसैले बोकेर ल्याएको घिउले अहिले जीउ यस्तो भयो । यही जीउ नयाँ सरकार बनाउने बीउ बन्यो । त्यसैले पदक पाउनेको सूचीमा मेरो सालोको नाम पनि थप्नुपर्छ ।

–त्यसो त मेरी सालीको योगदान चाहिँ कमको छ र ? पहिलेपहिले प्रहरीले कुटेर थिलोथिलो भएको ज्यानमा उसैले तेल घसिदिइ । अलि पहिले नै कुनै देशमा राजदूत बनाइदिनुपर्यो भेना भन्थी । त्यतिबेला आफ्नो हातमा पावर थिएन, अब पावर भएको बेलामा अरु केही दिन नसके पनि एउटा पदक त दिनु पर्यो । 

–हामी सबैका श्रीमती, बा, सालासाली, काकाकाकी, आफन्त र आफैँलाई मात्र पदक बाँड्दा दुनियाँले के भन्ला ? अरुको पनि नाम थप्नुपर्छ ।

–मरणोपरान्त दिनुपर्छ । दिएजस्तो पनि हुने, दिन पनि नपर्ने । धेरैलाई त पहिल्यै नै दिइसके । को होला त हामीलेजस्तै देशलाई योगदान गर्ने अरु मान्छे ?

–हामीजस्तो योगदान नगरे पनि अलिअलि मान्छेले सम्झिरहने नाम छन् नि त । मोतीराम भट्ट, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, पृथ्वीनारायण शाह, चन्द्र शमशेर, जङ्गबहादुर राणा।

यिनीहरुमध्ये कसैलाई दिउँ न त ?

–भानुभक्तलाई दिएपछि घाँसीलाई पनि दिनुपर्ला, पृथ्वीनारायण शाहलाई दिएपछि त्रिभुवन, महेन्द्र र वीरेन्द्रलाई पनि दिनुपर्छ । त्यसमाथि तिनीहरुले देशमा के योगदान गरे ? आन्दोलन गरे ? जेलनेल बसे ? लोकतन्त्र र गणतन्त्र ल्याए ? जसले आन्दोलन गर्यो, गणतन्त्र ल्यायो उसलाई हो पदक र विभूषण दिने । त्यसैले मरेर गएका मान्छेको कुरा नगरौँ । यहाँ जिउँदै भएकालाई भाग पुर्याउन सास्ती छ ।

–हो हो, अरुलाई होइन हामीलाई बाँड्ने हो । पहिले अरुले आफू र आफ्नालाई बाँडे, अब हाम्रो पालो ।

–नाम लेख्नुहोस् : मेरो जेठान, तपाईँको सालो ।

–तपार्ईंको बाबु, मेरो भतिजो ।

–मेरो भान्जा, तपाईँको माइजु ।

–मेरो चाहिँ म आफैँ ! तपाईँहरुले पो पहिले पाइसक्नुभयो त, मैले पाएको छैन । यसपालि म, अर्कोपालि मेरो छिमेकी ।

–अर्कोपल्ट त आफ्नो हातमा सत्ता र पद हुन्छ कि हुँदैन के थाहा ? त्यसैले अहिले पदमा भएकै बेला आफैँ र आफ्नालाई दिने हो है पदक साथीहरु । कोही नछुटौँ, मिल्छ भने दोहोरिऔँ।

–हो हो, नामै पदक भएपछि जो पदमा छ उसकै हक ! त्यसैले तपाईँको सालोलाई, मेरी सालीलाई !!

अन्तिम अपडेट: बैशाख ७, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया