थोक बजारमा नै सागको मूल्य किलोको २ सय रुपैयाँ, उपभोक्तालाई छाक टार्नै मुस्किल

 असोज १०, २०७८ आइतबार ७:४८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको बजारमा हरियो तरकारीको मूल्य लगातार बढेको छ । बजारमा विशेष गरी साग, सिमी, बोडी, काउली, गाजर, करेला महँगो छ ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमै आज तने बोडी किलोको १२० देखि १४० रुपैयाँ थोक मूल्य छ । यस्तै, ब्रो काउली र बरेला किलोको १५० देखि २ सय रुपैयाँ, भटमासको कोसा एक सय देखि १२० रुपैयाँ, स्थानीय काउली किलोको ७० देखि ८० रुपैयाँ, गाजर १३० देखि १५०, गान्टे मुला ८० देखि ९० रुपैयाँ, घिउसिमी ८० देखि ९० रुपैयाँ, घिरौँला ७० देखि ८० रुपैयाँ, चम्सुरको साग २२० देखि २५० रुपैयाँ, रायोको साग १८० देखि २ सय रुपैयाँ, टाटेसिमी १४० देखि १६० रुपैयाँ थोक मूल्य छ ।

बजारमा यी तरकारीको भाउ हेरी स्कुस, मुला, बन्दा र गोलभेँडाकाे भाउ केही सस्तो छ । आज ठूलो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ, टनेलको सानो गोलभेँडा किलोको ३२ देखि ३७ रुपैयाँ, स्थानीय सानो गोलभेँडा किलोको २० देखि ३० रुपैयाँ, रातो मुला किलोको ४० देखि ५०, सेतो मुला २० देखि २५ रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, स्कुस १५ देखि २० रुपैयाँ र हरियो फर्सी किलोको २० देखि ३० रुपैयाँ थोक मूल्य छ ।

तरकारीको यो मूल्य खुद्रामा झन् दोब्बर भन्दा धेरैले बढी हुन्छ । धेरैजसो उपभोक्ताले खुद्रा पसलमा नै तरकारी खरिद गर्ने गरेकाले उनीहरुको भान्सा महँगाे हुँदै गएको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बर्खे तरकारीको सिजन सकिएको र हिउँदे तरकारीको उत्पादन सुरु भइनसकेकाले हरियो तरकारीको मूल्य बढेको हो।

समितिका उपनिर्देशक विनय श्रेष्ठले अहिले बजारमा सात सय टन तरकारी भित्रने गरेको बताउनुभयो । काठमाण्डाै उपत्यकामा काभ्रे, मकवानपुर, धादिङबाट तरकारी भित्रिरहेको छ । मागको तुलनामा हरियो  तरकारीको आयात र उत्पादन कम हुँदा भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो ।

परबल, भिण्डी, काउली, खुर्सानी जस्ता तरकारीको उत्पादन नेपालमा कम भएको छ भने भारतबाट पनि यी तरकारी अहिले खासै भित्रिएका छैनन् । भारतबाट अहिले धेरैजसो आलुप्याज मात्रै भित्रिने गरेको छ । बजारमा हरियो तरकारीसँगै दैनिक उपभोग्य वस्तुको भाउ पनि बढिरहेकाले भान्सा झन् महँगो बन्दै गएको छ।

चाडपर्व नजिकिएसँगै दाल, चामल, तेल, चिनी लगायत खाद्य वस्तुको भाउ अस्वाभाविक रुपमा बढिरहेको छ । यस्तै बजारमा अहिले म्याद गुज्रिएका खाद्य वस्तु पनि बिक्री भइरहेको पाइएको छ ।

बजार अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमन थाले पनि उपभोक्ताले राहत पाउन सकेका छैनन् । मूल्य वृद्धिका कारण छाक टार्ने मुस्किल परेको उपभोक्ताको गुनासो छ । तर, विभागले भने अस्वाभाविक मूल्य बढाएकालाई कारबाही गर्ने गरेको दाबी गर्दै आएको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया