एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तीन वटा प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ । गएकाे शुक्रवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्दै आज आइतवार समापन भएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज १५ गते हुने विधान महाधिवेशनमा पाँच हजारको सङ्ख्यामा नेता, कार्यकर्ता सहभागी हुने बताउनुभयो । ललितपुरको गोदावरीमा रहेकाे हलमा असोज १५ गते सुरु हुने विधान अधिवेशन तीन दिन चल्ने उहाँले जानकारी दिनुभयो ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट पाँच जना, प्रत्येक जनसङ्गठनका पदाधिकारी र वरिष्ठ सदस्य मध्येबाट १० जना सहभागी हुने नेता भट्टराईले बताउनुभयाे ।
त्यस्तै जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रबाट अनिवार्य एक जना महिला, प्रत्येक जिल्लाबाट एक जना दलित, प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र एकतामा सामेल भएका व्यक्तिहरू सहभागी हुने उहाँले बताउनुभयो ।
बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेका कार्यभारहरूलाई सम्पन्न गर्दै र क्रान्तिका उपलब्धिहरूलाई अझै संस्थागत गर्दै समाजवादी दिशामा अगाडि बढ्ने आधार तयार गर्ने रहेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।
बैठकले आउँदा दिनमा पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक हिसाबले एकताबद्ध र सुदृढ बनाउने निर्णय गरेको पनि उहाँले उल्लेख गर्नुभयो । आउँदाे सङ्घ, प्रदेश र पालिकाकाे चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने निष्कर्ष पनि पारित भएको प्रतिवेदनमा छ ।
प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘आउँदा कार्यभारहरू स्पष्ट गरिएको छ । पार्टीलाई अझै वैचारिक, राजनीतिक, सङ्गठनात्मक हिसाबले एकताबद्ध र सुदृढ बनाउँदै सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने र नेपालमा नेकपा एमालेको पहलकदमीमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने कार्यभारलाई यो प्रतिवेदनले जोड दिएको छ । यो प्रतिवेदनले आउँदा दिनमा हुने प्रतिस्पर्धा, संसदीय चुनाव र अन्य विभिन्न चुनावकाे प्रतिस्पर्धामा नेकपा एमालेलाई सर्वोत्कृष्ट पार्टी बनाउने, पहिलो पार्टी बनाउने, त्यो उद्घोष यो प्रतिवेदनले गरेको छ । आउँदाे संसदीय चुनावमा पार्टीले बहुमत ल्याउने, प्रदेश चुनावमा पार्टीले बहुमत ल्याउने र पालिकाकाे चुनावमा समेत पार्टीले बहुमत ल्याउने तयारीका साथ अब अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष यो प्रतिवेदनमा छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियाे बनाउने । प्रतिस्पर्धाको नाममा हुने पार्टीको समूहबन्दी, गुटबन्दीजस्ता कुराहरूलाई निरुत्साहित गर्ने । पार्टीमा योग्यता, क्षमता, उसको कामको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्ने । त्यसको आधारमा जिम्मेवारीहरू दिने कुरा पार्टीको सङ्गठनात्मक प्रस्ताव र विधानमा हामीले उल्लेख गरेका छौँ ।’
एमालेले आउँदा दिनमा प्रशिक्षणहरूलाई नियमित गर्ने र पार्टी स्कुलहरूलाई नियमित सञ्चालन गर्नेसमेत पारित गरेको प्रतिवेदनमा उल्लेख गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।