वार्षिक डेढ अर्ब डलर बराबरको राँगाभैँसीको मासु चीन निर्यात ग...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरिकन अघि बढ्नै नसकिने तर्कसमेत गर्नुभयो ।
ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आज आइतवार सम्पन्न पार्टीकाे केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेको छैनौँ अहिलेसम्म । त्यसलाई सिद्धान्तको रूपमा परिभाषित गरेका छैनौँ, आधिकारिक रूपले त्यसलाई व्याख्या गरेका छैनौँ । यस विषयमा पनि हामी यसरी लामो समयसम्म जान सक्दैनौँ । जनताको बहुदलीय जनवादको यत्रो कुरा गरेका छौँ । तर त्यो के होे ? भन्ने कुरा नै नभनेर पनि जान सकिन्छ ? तसर्थ यो पनि हामीले परिपूर्ण गराऔँ भन्ने मेरो कुरा हो ।’
उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुन नहुने टिप्पणीसमेत गर्नुभयो । उहाँले थप्नुभयो, ‘हामीले जनताको बहुदलीय जनवादको कुरा गरेका छौँ । त्याे आँखा नदेख्नेले हात्ती छामेजस्तो जसले जे बुझ्यो, त्यही भयो । त्यसलाई परिभाषित गरेका छैनौँ । जनताको बहुदलीय जनवादले के गर्छ ? साम्राज्यवादको विरोध गर्छ । जनताको समर्थन गर्छ, जनताको पक्ष लिन्छ । महिलाको पक्ष लिन्छ । युवाको पक्ष लिन्छ, यस्ता अनेकन कुरा भन्न सकिन्छ । तर स्वयम् जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेका छैनौँ ।’
उपमहासचिव भुसालले कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खानुपरेको उल्लेख गर्दै त्यसमा आफूहरूभित्रै रहेको कमजोरीबारे अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताउनुभयो । त्यसैगरी उहाँले समाजवादमा जाने कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको स्पष्ट पार्नुभयो ।
उपमहासचिव भुसालले भन्नुभयो, ‘हामीले छलफल गर्याैँ । दस्तावेजहरूमा धेरै कुरा आवश्यक र उचित कुरा पनि छन् । तर त्यसमा चाँहि नपुगेका केही आधारभूत कुरा पनि छन भन्ने मेरो भनाइ हो । मलाई लागेको कुरा बैठकमा राखेको छु । स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा पनि राखेको छु । तीन वटा कुरामा अहिले कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, त्यो धक्का सानोतिनो छैन । यसमा हाम्रै पनि के–के कमी भएका छन् ? त्यसबारेमा पनि हामीले नलुकाइ दुनियाँको सामुन्ने भन्न सक्नुपर्छ । क्रान्तिकारी पार्टीले फेरि उठ्ने, देशकाे जिम्मेवारी बोक्ने पार्टीले कुराहरू लुकाउनु हुँदैन भनेर कुरा मैले राखेको छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।