सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीक...
मंसिर ७, २०८१ शुक्रबार
दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवतीकाे शवकाे पहिचान खुलेकाे छ ।
शव फेला परेकी युवती नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी भएको प्रहरीले जनाएकाे छ ।
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा विवाद हुँदा उनकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे हाे । उनको हत्या आराेपमा गुराँस गाउँपालिका-५ गोगनपानीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरिएकाे छ ।
गणेशले गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको हत्या गरी भैरीखोलामा फालेको भन्ने आरोपमा प्रहरीले असोज १ गते उनलाई पक्राउ गरेको थियो । आरोपितको संलग्नताको प्रमाण जुटाएर गणेशविरुद्ध पीडित परिवारबाट हत्या कसुरमा जाहेरी लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजित सुनारले जानकारी दिनुभयो ।
अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन् । प्रहरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेकाे र आफ्नाे एक छाेरी समेत भएकाे बताएपछि विवाद भएकाे र अस्मिता खाेलामा हाम फालेकाे बयान दिँदै आएका थिए ।
अस्मिताकाे शव घटनाकाे भाेलिपल्ट भदाै १५ गते बिहान बिउराखेत नजिक भैरीखाेलामा भेटिएकाे थियाे । त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका–८ झुप्रेसाल जङ्गलमा प्रहरीले शव खाडल खनी गाडेको थियो ।
अस्मिताले काम गर्दै आएकाे घरबाट भदाै २८ गते दैलेखमा फाेन गरेर साेधेपछि उनकाे खाेजी सुरु भएकाे थियाे । काठमाण्डाैबाट दैलेख हिँडेकी अस्मिता घर नपुगेकाे थाहा पाएपछि प्रहरीले तर्ताङ्मा गाडेकाे शवकाे फाेटाेसँग दाज्दा उनकाे पहिचान खुलेकाे हाे ।
अस्मिताकाे माेबाइलकाे नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएकाे कल डिटेल्सकाे आधारमा गणेश विकले हत्या गरेकाे खुल्न आएकाे हाे। प्रहरीले भदाै १४ गते अस्मिता र गणेशबीच १२ पटक कल भएकाे डिटेल्स निकालेकाे थियाे ।घटना भएकै दिन गणेशले आफ्नो सिम भाँचे पनि प्रहरीले दुई दिनमा उनको घरमा पुगेर पक्राउ गरी अनुसन्धान थालेको थियाे ।
भदौ १४ गते पनि बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला हत्या भएकाे खुलेको हाे । अस्मिताकाे गएकाे भदाै २९ गते दाहसंस्कार गरिएकाे थियाे ।
अस्मिताकी आमा शान्ता बाेगटीले गएकाे बुधवार गणेश विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिनु भएकाे छ ।
प्रहरीले सूचना प्रविधि र सामाजिक परीक्षणबाट हत्या भएको एकीन गरेर अनुसन्धान केन्द्रित गरेको जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।