माओवादी केन्द्रले सरकार विस्तारमा सहजीकरण गर्ने

 असोज ११, २०७८ सोमबार १४:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा देखिएको कानुनी जटिलता हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।   

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साेमवार बसेको स्थायी कमिटीकाे बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानुनी जटिलतालाई चाँडाे समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो । 

आजको बैठकमा सरकार विस्तारका लागि कानुनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङका अनुसार सरकार विस्तारमा देखिएको जटिलता समाधान गरेर शीघ्र पूर्णता दिन त्यससँग जोडिएका विषयमा छलफल भएको हो । 

स्थायी कमिटीकाे बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराउनुभएको थियो भने स्थायी कमिटी सदस्यको राय पनि लिनुभएको थियो ।   

यस्तै बैठकमा पार्टीको आउँदाे राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाका बारेमा पनि छलफल भएको थियो । नेता गुरुङका अनुसार पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरिएको छ । यस्तै टोल भेला आउँदाे कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आउँदाे मङ्सिर ४ गते पालिका सम्मेलन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।   

पालिका, वडा र टोल सम्मेलनका बारेमा केही दिन समय थप गरिएको भए पनि राष्ट्रिय सम्मेलनको कार्यतालिकाका बारेमा भने कुनै परिवर्तन गरिएको छैन । माओवादीले आउँदाे पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरेको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया