अदालतमा विचाराधीन मुद्दा प्रतिकूल हुने गरी संसदमा छलफल गर्न मिल्दैन : सभामुख

 असोज ११, २०७८ सोमबार १५:२५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गर्नुभएको छ । 

आज सोमवार पनि प्रतिनिधि सभाको बैठकमा अवराेध गर्दै बेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरूलाई सभामुख सापकाेटाले आफूविरुद्ध लगाइएको मुद्दा अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै ती मुद्दामा प्रतिकूल हुने गरी सङ्घीय संसदमा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण गराउनुभयो । उहाँले अति आवश्यक विधेयकहरू पारित गरेर जानुपर्ने भएकाले पनि संसद् बैठकमा अवराेध गरिरहन नमिल्नेतर्फ पनि एमालेका सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दामा न्याय निरूपणमा प्रतिकूल असर पर्ने विषयमाथि सङ्घीय संसद्को कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु । प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ को खण्ड ग, घ का प्रावधानहरू हामी सबैले पालना गर्नुपर्ने प्रावधानहरू हुन् । उल्लेखित प्रावधानहरू पालनाका लागि पुनः अनुरोध गर्दछु ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । त्यही मुद्दा अदालतमा विचाराधीन रहेकाले न्याय निरूपणमा प्रतिकूल असर हुने गरी संसदमा ती विषयमा छलफल गर्न नमिल्ने सभामुख सापकोटाको तर्क थियो ।

सभामुख सापकोटाले बैठक सुरु गराउन गरेको आग्रहलाई एमालेका सांसदहरूले अस्वीकार गर्दै बेलमा नाराबाजी गरिरहे ।

यसैबीच सभामुख सापकोटाले राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण गरेर संसदमा पठाउनुभएको विनियोजन विधेयक २०७८ पढेर सुनाउनुभयो । 

त्यसैगरी बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे बैठकलाई जानकारी गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया