‘त्यसपछि चाहिँ अब जिन्दगी यति नै रहेछ भन्ने भयाे !’

 असोज ११, २०७८ सोमबार १८:१०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज साेमवार बिहान काठमाण्डौबाट विराटनगर उडेको बुद्ध एअरको विमान फर्किएर काठमाण्डौमा सुरक्षित अवतरण गरेको छ । ल्याण्डिङ गियरमा समस्या हुँदा जहाज विराटनगरमा अवतरण हुन नसकी सुरक्षित अवतरणको प्रयास गर्दै काठमाण्डौको आकाशमा फन्को लगाइरह्यो । मृत्युको नजिक पुगेको ठानिएको त्यस अवस्थामा जहाजमा रहेका एक यात्रुको प्रत्यक्ष भोगाइ जस्ताको त्यस्तै । 

नमस्कार, म प्रताप लिम्बु । हामी आज बिहान ८ः०५ को फ्लाइटमा विराटनगर गएका थियौँ । विराटनगर पुग्ने बेलामा ल्याण्ड किन भएन भनेर प्रश्न गर्दा अलिकति हाम्रो प्लेनको प्रोब्लेम छ भन्नुभयो । प्रोब्लेम थोरै निक्लेको छ भन्नुभयो । त्यहाँ पनि क्याप्टेन सापले निकै दुःख गर्नुभयो । ६/७ चोटि नै प्रयास गर्नुभयो, तर सक्नुभएन । त्यसपछि काठमाण्डौ ब्याक गर्नुभयो । 

काठमाण्डौ आउन्जेलसम्म मलाई त केही भएकै थिएन । म त ढुक्क नै थिएँ । त्यसपछि राम्रै हुन्छ होला भन्ने भयो । काठमाण्डौ आइकन पनि ८/१० पटक घुमेको घुम्यै गर्‍याे, त्यसपछि चाँहि मनमा चिसो लाग्न थालिगो । 

त्यसपछि यहाँ मैले हेर्दा नेपाली सेनालगायतका सुरक्षाकर्मीहरू रेडी पोजिसनमा हुनुुहुन्थ्यो । त्यसपछि चाँहि अब जिन्दगी यति नै रैछ । अब यो प्लेनबाट दुर्घटना हुन्छ नै भन्ने भयो । 

धन्न हाम्राे क्याप्टेन साप सिनियर के शेर्पा भन्ने हुनुहुँदो रहेछ । जहाजमा केही पनि भएन । अब हामी ल्याण्डिङ गर्छाैँ भन्नुभयो तर, ल्याण्डिङ नै भएन । किन ल्याण्डिङ भएन भनेर अब यहाँ प्लेनमा खैलाबैला भो । 

मान्छेहरूले ढोका खोलिदिनुस् हामी हाम फाल्छौँ भने । हामीलाई छोडिदिनुस्, अब हाम्रो नहुने रैछ भनेपछि प्लेनमा रहेका एअरहोस्टेसहरूले सम्झाउन थाले । अनि लाग्याे उनीहरू  त्यतिकै एअरहोस्टेस हुँदा रहेनछन् । हामी तपाईँलाई बचाउन सक्दो कोसिस गर्छाैँ भन्दै हुनुहुन्थ्यो । 

हामी फ्युल सिध्याउन खोज्दैछौँ, फ्युल सकिएपछि प्लेनमा पानी छरेर त्यसमाथि फोम राखेर हामी सेफ ल्याण्डिङ गर्छाैँ भन्दै हुनुहुन्थ्याे । फ्युल सकिएपछि आगो लाग्दैन, बर्स्ट हुँदैन भनेर एडभोकसी गरिराख्नुभयाे । 

तर, एक जना क्याप्टेनले लास्ट एक पटक ट्राई गर्छु भन्दा सेफ ल्याण्डिङ भयो । भगवानले हेर्नुभयो । रोइकराइ भयो । एक/दुई जना बेहोस पनि भए । त्यो अवस्थामा जो पनि हुन्छ । त्यो अवस्थामा तपाईँ/हामी जो कोही जस्तोसुकै दह्राे मन भएको मान्छे पनि बेहोस हुन्छ ।  

एअरहोस्टेसहरू पनि रोइरहनुभएको थियो, चिच्याउनु चाँहि भएको थिएन । उहाँहरूको आँखामा पनि आँसु चाँहि देखिरहेको थियो । 

मैले घरमा मेसेज पनि गरिसकेको थिएँ । अब यति नै रैछ । आज धेरै पटक ल्याण्डिङ गर्ने कोसिस गरियाे तर भएन । अब यति नै रैछ । बाँचियो भने भेटौँला मरियो भने सक्कियाे यति भनेँ । 

अन्ततः विमान सुरक्षित अवतरण भएकाेमा चालक दल र भगवानलाई पनि धन्यवाद दियाैँ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया