१० बुँदे सहमति कार्यान्वयन गर्न बनेकाे कार्यदलकाे संयाेजकमा भीम रावल

 असोज ११, २०७८ सोमबार २०:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । आज सोमवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई यस कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो । 

अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार बैठकले १० बुँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि यस कार्यदललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिनुभयो । 

कार्यदलमा रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनुभएको थियो भने नेता शङ्कर पोखरेललाई पनि कार्यदलमा राख्ने निर्णय गरिएकाे छ । 

बैठकले पार्टीको जनवर्गीय सङ्गठनहरूमा देखिएको समस्या पनि तत्काल हल गर्न पार्टीका महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ । प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘मोर्चा सङ्गठनहरूमा पनि यसको कार्यान्वयनका निम्ति महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सङ्गठन विभाग प्रमुख विष्णु पौडेल, मोर्चा फाटका गोकर्ण विष्ट र टोपबहादुर रायमाझी रहनुभएको कार्यदल छ । यही कार्यदलले जनवर्गीय सङ्गठनमा देखिएका समस्या पनि हल गर्ने र सकेसम्म विधान महाधिवेशनअघि नै यो समस्यालाई समाधान गरेर प्रतिनिधिहरू ल्याउने व्यवस्था गर्ने भनेर अध्यक्षले आज निर्देशन दिनुभएकाे छ ।’

एमालेले पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधानसम्बन्धी प्रतिवेदनमा पार्टीभित्र फरक मत नरहेको पनि जनाएको छ । 
बैठकले एकीकृत कम्युनिस्ट पार्टी बनाउने पार्टीको मुख्य कार्यभार रहेको निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीहरूसँगको छलफललाई अघि बढाउने निर्णय पनि गरेकाे प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।  

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया