प्रधानमन्त्री देउवालाई ओलीको सन्देश, ‘कानुन बनाउने र खारेज गर्ने काम संसद् बाहिरबाट गर्न मिल्दैन’

 असोज १२, २०७८ मंगलबार १३:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले फुटाउने षड्यन्त्रका साथ ल्याएको अध्यादेश फिर्ता गर्नु असंवैधानिक, षड्यन्त्रपूर्ण र बदनियतपूर्ण रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा ओलीलाई भेट्न बालकोट पुग्नुभएका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग ओलीले चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षड्यन्त्र र संविधान विपरीत रहेको र अहिले फिर्ता लिनु त्यो भन्दा पनि बढी षड्यन्त्रपूर्ण रहेको बताउनुभएको हो ।  

संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन नसक्ने ओलीको दाबी छ । सरकारले गएको भदौ २ गते दल फुटाउन सहज हुने व्यवस्था सहित जारी गरेको अध्यादेश हिजो ११ गते फिर्ता गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्री कार्की मार्फत एमालेको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाउनुभएको छ । 

प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले पठाएको विरोधको सन्देशबारे उहाँको प्रेस संयोजक रामशरण बजगाईँले लेख्नुभएको छ, ‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गएकाे भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन विल्कुलै असंवैधानिक, षड्यन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ । 

चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो । अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसद्लाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन । 

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो । तर अहिले संसद् अधिवेशन चालु रहेकै बेला संसदमा प्रस्तुत विधेयकको वास्ता नगरि, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दूषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।'

यस्तो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँमार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाउनु भयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया