खाद्यको सुपथ मूल्य पसल : छुटदेखि अनलाइन डेलिभरीसम्म

 असोज १३, २०७८ बुधबार १५:३९:४७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – दशैँको अवसर पारेर खाद्य संस्थानले प्रायः हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ । यस वर्ष पनि असोज १ गतेदेखि खाद्य संस्थानले आफ्ना डिपोहरूमार्फत सुपथ मूल्य सञ्चालनमा ल्याएको छ । 

संस्थानले काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी चार ठाउँमा डिपो सञ्चालन गरेको छ । लगनखेलमा भने संस्थानले सहकारीमार्फत बिक्री गर्ने गरेको छ ।त्यस्तै खाद्यले ३९ जिल्लाको ४३ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । 

खाद्यले नुनमा दुई रुपैयाँ, कर्णालीको सिमीमा १० रुपैयाँ, भटमास तेलमा १० रुपैयाँ तथा अरू सबै सामग्रीमा पाँच रुपैयाँ छुट दिएको छ । 

‘बाहिरभन्दा त सस्तो नै छ । अझ पहिलेको भन्दा सबै चिजमा पाँच रुपैयाँ छुट दिइएको छ’, खाद्य संस्थानको थापाथली डिपोका वरिष्ठ सहायक ललित कुमार यादव भन्नुहुन्छ । 

थापाथली डिपोमा परिणामका हिसाबमा चामल सबैभन्दा धेरै बिक्री भएको तथा अन्य दलहन र तेल धेरै बिक्री हुने गरेको छ । 

चामलपछि दाल बढी बिक्री हुने गरेको छ । थापाथली काउन्टरमा दैनिक डेढ सयदेखि दुई सय ग्राहक पुग्ने गरेका छन् । 

‘अहिले दुई शिफ्टमा बिक्री भइरहेको तथा दैनिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको बिक्रीको रेकर्ड रहेको छ’, यादवले भन्नुभयो ।

एक जनालाई एक क्विन्टल चामल, दुई किलो दाल

अहिले एक जनालाई बढीमा एक क्विन्टल चामल, दुई किलो दाल र पाँच लिटर तेल दिने गरिएको छ । 

सामान्यतयाः एउटा परिवार चार/पाँच जनाको हुन्छ । अनि दशैँमा पाहुना पनि हुन्छन् । चाडपर्वमा तेल पनि धेरै खपत हुन्छ, त्यस कारण एक जनालाई एक क्विन्टल चामल, दुई किलो दाल र पाँच लिटर तेल दिने गरिएको बताउनुहुन्छ वरिष्ठ सहायक यादव । 

सामान लिन जाने मान्छेको नाम, ठेगाना तथा मोबाइल नम्बरको रेकर्ड हुने कारणले एउटै व्यक्ति पटक–पटक दोहोरिने तथा व्यापारीले अन्य मानिस प्रयोग गरेर सामान लैजाने सम्भावना पनि कम हुने उहाँको भनाइ छ । 

यादव भन्नुहुन्छ, ‘व्यापारीले त्यसो गर्दैन । दैनिक यसरी मान्छे दोहरिँदा त हामीले पनि निगरानी गरिरहेका हुन्छौँ । उनीहरूको नाम र मोबाइल नम्बर पनि टिपिएको हुन्छ जसले गर्दा व्यापारीले त्यसरी मान्छे पठाएर थुपार्ने गर्ने भन्ने सम्भावना हुँदैन ।’ 

चाडपर्व लक्षित कार्यक्रमका लागि चामल झन्डै दश हजार क्विन्टल र दलहन प्रकार असी क्विन्टल मौज्दात रहेको छ । यदि खपत भएकाे खण्डमा यसमा थप वृद्धि गरिने छ । 

चामल किलोको ४५ देखि २२० रुपैयाँसम्म

असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन भएपछि चामल सय क्विन्टल खपत भएको र दलहन सामग्री पनि त्यही परिमाणमा खपत भएको छ । 

थापाथलीमा अहिले अरुवा मकवानपुर चामल ४५ रुपैयाँ किलोदेखि जुम्ली मार्सी चामल दुई सय २० रुपैयाँ किलोसम्मका गरी एघार किसिमका चामल, कर्णाली सिमी, क्वाँटी, चार प्रकारका दाल, चिउरा, तिते फापर, आँटा दुई प्रकारको, भटमास, तोरी र सनफ्लावर तेल, दुई प्रकारका गहुँ र नुन उपलब्ध छ ।

बजारमा सामान्यतयाः ७० रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामल खाद्यमा ५८ रुपैयाँमा पाइन्छ । जिरा मसिनो दश किलोको प्याकमा, बासमती दश किलो र बीस किलोको प्याकमा, जुम्लाको मार्सी भने एक किलोको प्याकमा उपलब्ध रहेको छ । मार्सी चामल भने एक जनालाई एक किलो मात्रै दिने गरिएको छ । 

अनलाइन डेलिभरी

खाद्य संस्थानले भौतिक रूपमा उपस्थित हुनेलाई मात्र सामान उपलब्ध गराउने नभइ अनलाइन अर्डर गर्नेलाई समेत सामान उपलब्ध गराउँदै आएको छ । 

त्यसका लागि कम्तीमा दुई हजार रुपैयाँदेखि १५ हजार रुपैयाँको अर्डर गर्नुपर्ने हुन्छ । संस्थानको आफ्नै अनलाइन डेलिभरी सिस्टम नभएको हुनाले तीन वटा अनलाइन डेलिभरी कम्पनीलाई जिम्मा दिएको छ । जसमा सस्तो डिल डट कम, मुकुण्डो डट कम तथा गोगो २० डट कम रहेका छन् । 

डेलिभरी कम्पनीलाई डेलिभरीबापत पाँच प्रतिशत कमिसन संस्थानले आफैँ उपलब्ध गराउने छ । यसका लागि उपभोक्ताले छुट्टै शुल्क तिर्नु पर्दैन ।   

उपभोक्ताको रूचि खाद्यमा

खाद्य संस्थानले सञ्चालन गरेको दशैँ लक्षित सुपथ मूल्य पसलमा रामकाजी उप्रेती बालाजुबाट थापाथलीसम्म आइपुग्नुभएको छ । उहाँ दाल, चामल, चिनी आदि खाद्य सामग्री लिन थापाथलीसम्म आउनुभएको हो । उहाँले चार हजार रुपैयाँ बराबरको खाद्य सामग्री किन्नुभयो खाद्य संस्थानमा । 

बाहिर बजारको तुलनामा खाद्य संस्थानका डिपोमा सस्तो पाइने भनेको सुनेको हुनाले उहाँ संस्थानको डिपो थापाथलीमा आउनुभएको हो । 

‘बाहिर बजारमा भन्दा चामल बोरामा एक सय २० रुपैयाँ सस्तो रैछ’, उहाँले भन्नुभयो, ‘अन्य सामग्री पनि सस्तो नै छ । तर, चिनी भने पाइएन र चिनी दशैँभन्दा अघि आउँदैन रे !’

अर्का उपभोक्ता राजु मरासिनी पनि अन्यत्र पसलभन्दा सस्तो हुने सुनेर आफू बालाजुबाट सामान लिन थापाथली आएको बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया