मृत्यु भइसकेका व्यक्तिकाे नाममा भत्ता लिने तत्कालीन पाँच गाविस सचिवविरुद्ध मुद्दा दर्ता

 असोज १३, २०७८ बुधबार १५:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

उदयपुर – उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । 

मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

तत्कालीन गाविस सचिवहरूले मृत्यु दर्ता भएपछि मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाइ लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरूका नाममा साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उजुरीपछि छानबिन गर्दा १६ लाख ४० हजार पाँच सय रुपैयाँ हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभयो । रिसालका अनुसार त्याे गाविसमा सात–आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३/०६४ सालदेखि २०७१/०७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखियो ।

अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हजार पाँच सय, लोकेन्द्र कार्कीसँग ७८ हजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैयाँ सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ एवम् दफा ३५ बमोजिम अदालतमा आरोप पत्र दायर गरेको हो ।

तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य अहिले मालपोत कार्यालय उदयपुरमा, लोकेन्द्र कार्की रौतामाई गाउँपालिका ७ को वडा सचिव पदमा, विशाल सुन्दास तथ्याङ्क कार्यालय उदयपुरमा, माधवप्रसाद खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रूपमा कार्यरत छन् भने पुष्पराज सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन् ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया