बुद्ध एअरमा देखिएको समस्या के हाे ? उपसमिति बैठकमा छलफल

 असोज १५, २०७८ शुक्रबार १८:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले हवाईजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । 

आज शुक्रवार सिंहदरबारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाईजहाजमा देखिएका प्राविधिक समस्याहरूका बारेमा छलफल गरेको हो । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एअरमा देखिएको समस्या त्रुटिवश भएको बताउनुभयो ।

उहाँले बुद्ध एअरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताउनुभयो । सहसचिव लामिछानेले विमान मिशिनबाट चल्ने भएकाले कहिलेकाहीँ केही समस्या देखिनु स्वाभाविक भएको तर्क गर्नुभयो ।

उपसचिव लामिछानेले भन्नुभयो, ‘अस्ति बुद्ध एअरको जुन एउटा घटना भयो, अहिले हामी सबै त्यसको अनुसन्धानकाे चरणमा छौँ, अनुसन्धान पूरा भएपछि भन्ने ठाउँ त भइ नै हाल्छ, अस्तिको घटनाबारे भन्दा मुख्यतः दुर्घटना कसरी हुन्छ ? मेशिनरी चिज हुँदा घटनाहरू हुने सम्भावना भइरहन्छ, कति घटनाहरू रेगुलेटरलाई पनि थाहा हुँदैन, कति कुराहरू पाइलटले मात्रै फेस गरेको हुन्छ र त्यत्तिकै पनि समाधान हुन्छ, कति अप्रेटरकोमा आउँछ, त्यहाँबाट समाधान हुन्छ, साना घटनाहरूलाई हामी इरर भन्छौँ, अस्तिको कुरा इरर हो ।’

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताउनुभयो । उहाँले नागरिक उड्ययन प्राधिकरणलाई हित हुने गरेर राम्रो सुझाव आए खुसीसाथ स्वीकार्ने बताउनुभयो ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एअरको बारेमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताउनुभयो । उहाँले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपुर्जा, ल्यान्डिङकाे आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताउनुभयो ।

यती एअरलाइन्स प्रा.लि.का अप्रेशन्श म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नुभन्दा अघि इन्जिनियरहरूले जाँच गरेपछि मात्रै उड्ने भएकाले बुद्ध एअरको घटना अपवादमा भएको बताउनुभयो । कहिलेकाहीँ यस किसिमका घटनाहरू सबै परीक्षण गरिसकेपछि पनि हुने उहाँले बताउनुभयो ।

श्री एअरलाइन्स प्रा.लि.का अध्यक्ष सुधीर मित्तलले गाडीको जस्तै जहाजको पनि प्राविधिक समस्या आउने भएकाले बुद्ध एअरमा त्यही समस्या दोहिरिएको बताउनुभयो । उहाँले सधैँ आइरहनु ठूलो समस्या भएको तर कहिलेकाहीँ देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताउनुभयो । उहाँले १५ वर्षको इतिहासमा पहिलो पटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताउनुभयो ।

अध्यक्ष मित्तलले अन्तर्राष्ट्रियस्तरमा हेर्दा पनि विगत पाँच वर्षयता नयाँ जहाज दुर्घटना र समस्या आइरहेको बताउनुभयो । एथ्री २० नियोमा इतिहासमै सबैभन्दा धेरै उड्दा उड्दै जहाजको इन्जिन बन्द हुने समस्या आएको बताउँदै अध्यक्ष मित्तलले नियमन निकायले तोकेको भन्दा धेरै उडान भरेमा समस्या आइरहने बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया