नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिँदै छ ।
जनगणना अन्तर्गत पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम गएको भदौ ३० गतेदेखि सुरु भएको थियो । पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ। बाँकी रहेको काम दुई/चार दिनमा सकिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैजसो जिल्लामा सूचीकरणको काम आंशिक रुपमा बाँकी छ । अहिलेसम्म घरपरिवारको सूचीकरण ५० लाखको सङ्ख्यामा मात्र आएको छ । गाउँ-गाउँमा खटिएका गणकले सङ्कलित सूचना पठाउन बाँकी नै रहेकाले सबै विवरण केन्द्रमा आइसकेको छैन ।
ग्रामीण क्षेत्रमा यातायातको असुविधासँगै इन्टरनेट तथा सञ्चार सेवाको समस्या हुँदा र कतिपय गणकहरु बिरामी भएकाले पनि सङ्कलित विवरण आउन ढिलाइ भएको हो । अहिले देशभर ७० लाख घरपरिवार भएको अनुमान गरिएको छ । यस्तै, पहिलो चरणको घर परिवार सूचीकरणमा नेपालको नयाँ चुच्चे नक्सामा परेका महाकाली पारिको लिपुलेक र कालापानी क्षेत्र छुटेको छ ।
सुपरिवेक्षण पठाउनै आनाकानी गर्दा महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घरपरिवार सूचीकरण हुन नसकेको हो । भारतको बाटो भएर जानुपर्ने तर सरकारले त्यो बाटो प्रयोग गर्न नभनेकाले सुपरिवेक्षक नै पठाउन नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार मूल गणनामा भने जसरी पनि लिपुलेक र कालापानी क्षेत्रलाई समेट्ने तयारी छ । मूल गणनामा भौतिक रुपमा उपस्थित हुन नसके पनि अरु विभिन्न उपाय अपनाएर गणना गरिने उहाँले बताउनुभयो। यो क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।
मूल गणनाका लागि कुटनीतिक पहल समेत भइरहेको छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना आउँदो कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।