दशैँ बजार : भीड छ, व्यापार छैन

 असोज १८, २०७८ सोमबार १०:२७:१९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - असोज सुरु भएदेखि नै बजारमा दशैँ लागेको छ । असन, इन्द्रचोक र न्युरोडमा भीडले खुट्टा टेक्ने ठाउँ छैन । अरु चोक र बजार पनि त्यत्तिकै व्यस्त देखिन्छन् । फुटपाथदेखि मलसम्म सबै ठाउँमा चहलपहल बढेको छ । मानिसहरु सामान हेर्न, छान्न र किन्न व्यस्त छन् । 

बजारको भीड हेर्दा पोहोर लकडाउनले पसल खोल्न नपाएका व्यापारी तथा घरबाट बाहिर निस्कन नपाएका मानिस सबै बजारमै छन् कि जस्तो लाग्छ । उसै पनि भीडभाड रहने असन, इन्द्रचोकमा मानिसको दोहोरो लर्को नै छ । सबै जना सामान किनेर घर पुग्ने हतारोमा पनि देखिन्छन् । 

हिँड्ने ठाउँ नभए पनि व्यापार छैन 

सुविन तुलाधर असनका पुराना व्यापारी हुनुहुन्छ । उहाँको बाबुबाजेदेखिको चारपुस्ते व्यापार हो । यसरी चारपुस्ते व्यापार गर्दै आउनु भएका भएका सुविन तुलाधर भन्नुहुन्छ, ‘मान्छेको भीडभाड छ । बाटोमा खुट्टा टेक्ने ठाउँ छैन । हिँड्ने ठाउँ छैन तर व्यापार भने खासै छैन ।’ 

‘बाटोमा देखिएको मान्छेको चहलपहल हेर्दा व्यापार त चौबरै हुनुपर्ने हो । तर, पसल खोल्न पाइएको छ, रमाइलो हेर्न पाइएको छ त्यति हो,’ उहाँ भन्नुहुन्छ । 

अघिल्लो वर्ष कोरोनाले पसल खुलेको थिएन । मान्छे घरमै बन्द थिए । तर, अहिले भने कमसेकम पसल खुलेको छ । व्यापार गर्न पाइएको छ । व्यापार भए पनि नभए पनि व्यापारी यसमै सन्तुष्ट देखिन्छन् । 

‘पसल खोलेर व्यापार गर्न पाइएको छ । थोरैतिनो भए पनि व्यापार भएको छ, अब त्यसमै खुशी मान्नुपर्छ’ तुलाधर भन्नुहुन्छ, ‘सामान्य अवस्थामा दिनको पच्चीस/तीस हजार व्यापार हुने गरेकोमा अहिले भने सात/आठ हजारको मात्र हुने गरेको छ ।’

पहिले व्यापार नै गर्न नपाएको अवस्थामा अहिले थोरै भए पनि व्यापार भएकोमा चित्त बुझाउँदैछन् व्यापारी । ‘अवस्था सामान्य भएपछि व्यापार बढ्ला भन्ने आशमा यसलाई नै राम्रो मानेर चित्त बुझाउनु पर्छ’ तुलाधर भन्नुहुन्छ । 

विकास साहले असनमा व्यापार गर्न थाल्नुभएको पच्चीस/तीस वर्ष भयो । यसपालि जस्तो कम व्यापार भएको आफूलाई कहिल्यै थाहा नभएको भन्नुहुन्छ, विकास । 

पहिले सामान्य अवस्थामा चार पाँच हजारको व्यापार हुन्थ्यो । तर, अहिले भने सात आठ सयको मात्र हुने गरेको छ । ‘मान्छेको भीड हेर्दा व्यापार हुनुपर्ने हो । तर, खोइ मान्छेले सामान किनिरहेका छैनन् । भीडभाड मात्रै देखिन्छ । खास व्यापार भएन,’ साह भन्नुहुन्छ ।

असनका अर्का व्यापारी प्रदीप राजभण्डारीको व्यापार पनि पुस्तैनी नै हो । उहाँले थाहा पाएसम्म चार/पाँच पुस्ता नै भयो असनमा व्यापार गरेको । पहिले उहाँको पसलमा टर्चलाइट, ब्याट्री आदि थियो । अहिले भने कस्मेटिकको सामान छ । 

‘दशैँ भने पनि खास व्यापार छैन । तपाईँले पनि देखिरहनु भएको छ । भीडभाड चाहिँ राम्रै छ । तर, पसलमा भने व्यापार छैन,’ राजभण्डारी भन्नुहुन्छ  । 

अघिल्लो लकडाउनदेखि नै व्यापार व्यवसाय लगायत मान्छेको दैनिकीमा असर परेको थियो । लकडाउनले अन्य क्षेत्रलाई असर गरे पनि व्यापार/व्यवसाय चौपट नै बनायो । 

‘दुई वर्ष अघिदेखि नै खासै व्यापार छैन । लकडाउनले मान्छेलाई पेलेको छ । व्यापार भएन भन्नुभन्दा पनि मान्छेसँग पैसा नै छैन,’ राजभण्डारी भन्नुहुन्छ, ‘पहिलेको लकडाउनमा भएको घाटा नै व्यवस्थापन गर्न सकिरहेको छैन । अघिल्लो वर्ष पनि थपिएपछि झन गाह्रो भयो । दुई महिना व्यापार नहुँदा छ महिनालाई असर गर्छ ।’

व्यापारीको कुरा तथा अहिलेको बजारको चहलपहल हेर्दा मानिसले अहिले दशैँमा रहरको भन्दा पनि एकदमै आवश्यकताका कुरा मात्र किनिरहेको देखिन्छ । असनमा पूजा सामग्रीको पसल राख्ने सफलता अवाल भन्नुहुन्छ, ‘कोरोना लाग्नु अगाडि त व्यापार एकदम राम्रो थियो । भीडभाड पनि त्यत्तिकै हुने गर्थ्याे । तर, अहिले त पसलमा खासै मान्छे आएकै छैनन् ।’ 

असनको मन्दिरसँगै जोडिएको पसल भए पनि उहाँको पसलमा खासै मान्छे छैनन् । दशैँका लागि आवश्यक पूजासामग्रीको पसल हुँदा पनि उहाँको पसलमा त्यति भीडभाड देखिएन । 

‘चाहिने नै त आउलान् पनि, तर अहिले छैनन्,’ उहाँ भन्नुहुन्छ, दशैँ आउन केही समय अझै बाँकी भएकाले पनि हो कि ।’

बजारमा देखिएको भीड अनुसार व्यापार हुनुपर्ने हो । तर, त्यस्तो देखिएन । व्यापारीले पनि बिहान, बेलुका अलि अलि व्यापार हुने तथा दिउँसो नहुने बताउँदै थिए । 

‘भाउको भन्दा कोरोनाको चिन्ता’

असनको भीडभाडमा झोलाभरि सामान किनेर सुस्ताउँदै गर्नुभएकी सुशीला बस्नेतको दशैँ किनमेलको अनुभव फरक छ । समय दशैँको परे पनि उहाँ भने बिहेको सामान किनेर फर्कँदै हुनुहुन्थ्यो । 

‘सारी, जुत्ता, चुरा लगायतको बिहेको सामान किनेर फर्किएको हो,’ उहाँ भन्नुहुन्छ, ‘दशैँको समय पारेर लुगा किन्दा छुटले सस्तो पनि पाइने हुनाले अहिले आएको हो लुगा किन्न।' सबैले महँगो भने पनि खासै महँगो नलागेको उहाँ बताउनुहुन्छ । ‘भीडभाड चाहिँ बढी नै छ । लुगा सँगसँगै कोरोना पनि उपहार आउला भन्ने डर रह्यो’ उहाँ भन्नुहुन्छ । 

‘दशैँको पूजासामाग्री किन्न भनेर आएको । साह्रै भीड रहेछ बजार,’ विनिता कार्की भन्नुहुन्छ,‘ सामानको भाउ पनि निकै बढेछ । भाउ बढ्यो भनेर नकिनेर भएन । दशैँमा सामान चाहियो, किन्न परिगो तर, यति भीड हुन्छ भन्ने थाहा पाएको भए अलि होलो हुने दिउँसोको समयमा आइन्थ्यो होला।'

दशैँमा नयाँ लुगा, जुत्ता केही आएका छन् कि भनेर फुटपाथमा लुगा छान्दै गरेका सुरज कार्की भन्नुहुन्छ, ‘खासै नयाँ केही आएको रहेनछ । अब एक/दुई दिनमा आउँछ होला । अहिले नै नकिने पनि पैसा सोध्दा भने पहिलेको भन्दा धेरै महँगो लाग्यो।'

स्वयम्भूबाट घरायसी सामान किन्न आउनु भएकी राधिका रानालाई बजार चाहिने भन्दा बढी नै भीड लाग्यो । ‘कत्ति धेरै भीड हो । मान्छे चाहेर पनि कोरोनाबाट जोगिन सक्दैन । कम भयो भनेर निस्केका होलान् । तर, पनि बजार भने सस्तो रहेनछ,’ उहाँ भन्नुहुन्छ । 

असन, इन्द्रचोकजस्ता पुराना बजार तरकारी लगायत अन्य अत्यावश्यक वस्तुका लागि यसै पनि चिनिएको ठाउँ हो । त्यसमाथि अहिले दशैँको बढेको चहलपहलले यसलाई विशेष बनाएको छ । 

दशैँमा किनमेल गर्ने मात्र नभएर पछि आवश्यक पर्दा सामान किन्दा भाउ थाहा हुन्छ भनेर भाउ बुझ्दै हिँड्ने अनि यसो नयाँ केही सामान आएको रहेछ भने किनिहालौँ भनेर बजारमा निस्कनेको पनि भीड देखिएको छ । यसले गर्दा व्यापारीले भनेझैँ अहिले बजारमा भीड छ तर, व्यापार छैन । 

कोभिडका कारण लामो समय घरभित्रै थुनिएर बसेका मानिस अहिले बजारमा निस्फिक्री हिँडेका छन् । बजार भने साँच्चै दशैँमय भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया