पार्टीभित्र फरक मत छैन, एमाले विभाजन नभएकाे फेरि पुष्टि भएकाे छ : पाैडेल

 असोज १८, २०७८ सोमबार १६:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताउनुभएको छ । पार्टीका सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका उपमहासचिव पौडेलले पार्टी विचार, सङ्गठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी गर्नुभयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि नराखेकाे स्पष्ट पार्नुभयो । 

आज साेमवार भर्खरै (हिजाे) सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति सङ्केत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रूपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माइन्युटमा दर्ज गर्नुपर्छ । औपचारिक रूपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रूपमा फरक मत राखेन भने ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौँ । यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन । विचार त सबैले व्यक्त गर्‍याैँ, सबै ठाउँमा हामीले आफूलाई लागेका कुरा बोल्यौँ । तर औपचारिक निर्णय हुन्छ । त्यो निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरक मत प्रस्तुत गरेको अवस्था होइन । त्यस कारणले पार्टीमा फरक मतको अवस्था नै छैन । पार्टी विचारमा, सङ्गठनमा सबै हिसाबले एकताबद्ध छ ।’

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताउनुभयो । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरूको निष्कर्ष सही साबित भएको उहाँको तर्क छ । उपमहासचिव पौडेलले माधव नेपालप्रति सङ्केत गर्दै स्वार्थवश, कुन्ठावश, ईर्ष्यावश केही साथीहरू अलग भएको र भ्रममा परेर पार्टी छाडेकाहरू पुनः फर्किने क्रम सुरु भएको पनि बताउनुभयो ।

उ​​हाँ भन्नुभयो, ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले भन्दै आएका थियाैँ, त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले पुनर्पुष्टि गरेको छ । एमाले विभाजित भएको छैन ।’

उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ बढी प्रभावकारी बनाएर लैजाने विश्वाससमेत व्यक्त गर्नु भयो । हिजो (आइतवार) सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आउँदाे मङ्सिर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गर्नुभएको थियो । उपमहासचिव पौडेलले त्याे महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो ।

उहाँले पार्टीको विधान महाधिवेशन पार्टी जीवनमै पहिलो पटक एकमतका साथ सम्पन्न भएको स्पष्ट पार्नुभयो । उपमहासचिव पाैडेलले भन्नुभयो, ‘एकता भावका साथ प्रवेश गर्‍याैँ । एकता भावका साथ छलफल गर्‍याैँ । सहमति र सर्वसम्मतिले निर्णय गर्‍याैँ, एकताबद्ध भएर हल बाहिर निस्कियौँ ।’ 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया