पदीय जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख सापकाेटा

 असोज १८, २०७८ सोमबार १५:४९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनुभएको छ । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसदमा अवराेध गरिरहेका बेला सभामुख सापकोटाले यस्ताे बताउनुभएकाे हाे । सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर आज साेमवार सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहासले आफूलाई सङ्घीय संसद्को नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै त्याे पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताउनुभयो ।

सभामुख सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धतासमेत दोहोर्‍याउनुभयाे । उहाँले संसद्को कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘हामीले जुन प्रण गरेका छौँ– सङ्घीय संसद्लाई जीवन्त र जनमुखी बनाउने, त्यो सूत्र वाक्यलाई मैले त सधैँभरि दिल र दिमागमा राखेर कार्यरूप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । सङ्घीय संसद्को कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔँ । हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ । संसद् सचिवालयको तर्फबाट पनि पहल गरिएको छ । अहिले मलाई इतिहासले सङ्घीय संसद्को नेतृत्वमा, प्रतिनिधि सभाको सभामुखमा लगेर राखेको छ । म यो पदका लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’

सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको बताउनुभयाे । उहाँले दर्शन शास्त्रलाई उद्धृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणासमेत राख्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया