भक्तपुरका मासु पसल अनुगमन : न्यूनतम मापदण्डसमेत पालना भएन

 असोज १८, २०७८ सोमबार २०:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – दशैँ नजिकिँदै गर्दा भक्तपुर नगरपालिका अनुगमन समितिले आज साेमवार गरेको मासु पसल अनुगमनमा धेरैजसाे अवैध र फोहर रहेको पाइएको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेका मासु पसलको अनुगमन गर्दा यहाँका सबै मासु पसल दर्ता नै नगरि अवैध रूपमा सञ्चालन गरेको पाइएको छ । धेरैजसाे मासु पसलमा फोहर, झिँगा भन्किएको, मासु सफा गर्ने ठाउँ नै फोहर रहेको, फोहर पानीले मासु पखालेको, फ्रिज सफा नगरेको पाइएको छ ।

त्यस्तै सरसफाइमा ध्यान नदिएको, भुइँ, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल नराखेको, तराजु दर्ता तथा नवीकरण नगरेको, मासु सफा गरेको पानी सजिलै जान सक्ने व्यवस्था नभएको, सेतो एप्रोनको प्रयोग नगरेको, मासु काट्ने औजार र भाँडा नराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

बजार अनुगमन गर्दा मासु पसलले न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको छ । अनुगमन टोलीले एलिया मिट शप, महिमा कोल्ड स्टोर, नवदुर्गा मिट शप, बज्रयोगिनी मासु पसल, न्यू काभ्रेली मिट शप, विनायक मिट शप लगायतका मासु पसलमा यस्ता समस्या भेटिएकाले सबै मापदण्ड पूरा गर्न सचेत गराइएको छ ।

दर्ता नभएकालाई अनुगमनकै क्रममा दर्ता गराइएको छ । पसल दर्ता गर्न नमान्ने बज्रयोगिनी मासु पसल, न्यू काभ्रेली मिट शपको तराजु एक/एक थान जफत गरी कार्यालयमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको प्रजापतिले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया