व्यङ्ग्य : ढुक्कको दशैँ–सित्तैमा लुगाफाटा र नोट, जताततै अफर र उपहार !

 असोज २३, २०७८ शनिबार १०:४९:२ | मिलन तिमिल्सिना
unn.prixa.net

पोहोर कोरोना थियो, दशैँ थिएन । अहिले कोरोना पनि छ र दशैँ पनि । तर खै के, खै के जस्तो भइरहेको छ । पोहोर दशैँ नभएकाले किनमेल गर्न र हिँड्न परेन, ढुक्कै थियो । यसपालि पोहोरजस्तै दशैँ नमनाउनको लागि कोरोनाले साथ दिएन । दशैँ मनाउनै पर्यो । कताको नुनतेल, कताको लुगाफाटा, कताको पैसा ? त्यसमाथि महँगी बढेर कुनै सामान छोइ सक्नु छैन। 

सम्झँदैमा निधारमा चिटचिट पसिना आयो । के गरौँ, कसो गरौँ, कसरी टारौँ कसरी पुर्याउँ भनेर छटपटी भयो । तर उतिखेरै थाहा भयो–हामी जस्ता मान्छेलाई दशैँ मनाइदिन सरकारदेखि व्यवसायीसम्मले तँछाडमछाड गर्दै रहेछन् ।

सबैभन्दा पहिले दशैँकै लागि भनेर सरकारले सहुलियत पसल खोलेको थाहा भयो । नुन, तेल, मरमसला, दालचामल सित्तैमा बाँड्न लागेजस्तो हल्लीखल्ली सुनियो।

दशैँ कसरी मनाउने होला भनेर चिन्ता गरेर बसेको बेला सरकारले मन्त्रीभन्दा पहिले खाद्यान्न बाँड्यो । सरकारले खाद्यान्न बाँड्ने भयो भनेपछि चुप लागेर बस्ने कुरा भएन । फाल ठोक्दै सहुलियत पसल पुगेपछि थाहा भयो, नाम मात्रै सहुलियत रहेछ । अरु पसलमा भन्दा जम्मा दुई रुपैयाँ सस्तो । त्यही पनि केही ठाउँमा मात्रै ।

दुई रुपैयाँ सस्तोको लागि सहुलियत पसलमा जान गाडीवालाले २० रुपैयाँ भाडा लियो । जाँदा २० रुपैयाँ, आउँदा २० रुपैयाँ । ४० रुपैयाँ त गाडीभाडामै सकियो । बजारसम्म पुग्दा भोक लाग्यो । खानेकुरा देखेपछि खाउँखाउँ लाग्यो । खान बस्दा १०, २० रुपैयाँले पुग्दैन । १० को कम्तीमा १० वटा नोट चाहिन्छ । त्यतिले पनि पेट भरिने चाहिँ होइन ।

दुई रुपैयाँ सस्तो खोज्न सहुलियत पसल जाँदा कम्तिमा डेढ/दुई सय रुपैयाँ त गाडीभाडा र खाजा खर्चमै सकिँदो रहेछ । तै पनि दशैँमा सहुलियत पसल खोल्यौँ भनेर सरकार दङ्ग मात्रै छैन, उग्र प्रचार प्रसारमा व्यस्त छ । सरकार दङ्ग परेको देखेर आफ्नो मन भरियो । हाम्रै लागि सहुलियत पसल खुलेको हो भने हामी चाहिँ किन मख्ख नपर्ने ? मनले चित्त बुझाउने मेलो निकाल्यो । 

दुख्न लागेको चित्तलाई थामथुम पार्दै घर फर्कनै लाग्दा फेरि फेरि नयाँ नोट बाँडेको अर्को हल्ला सुनियो । नयाँ नोट कहाँ कहाँबाट लिने भनेर राष्ट्र बैंकले बकाइदाको सूचना नै निकालेको रहेछ । 

बैंकमा ठेलम्ठेल घुइँचो र लामो लाइन । बैंक छिर्ने गेट कहाँ हो कहाँ ? लाइन दुई किलोमिटर वरसम्म आइसकेछ । तै पनि उभिनै पर्यो । हल्ला सुन्दा र ठेलम्ठेल हेर्दा लाग्यो, सरकारले सित्तैमा नयाँ नोट बाँड्दैछ । वर्षमा एकपटक आउने दशैँ मनाउनको लागि अग्रगमनवाला र समाजवादीहरुको सरकारले सित्तैमा बाँड्यो पनि होला । तर सित्तैमा पाइने हावा त राम्रोसँग बाँड्न नसक्ने सरकारले आफूलाई नराखेर हामीलाई किन सित्तैमा पैसा बाँड्थ्यो ? नोट दिएरै नोट साट्नुपर्ने रहेछ ।

ठिकै छ, पुरानो नोट दिएर नयाँ नोट पाइन्छ भने लिनै पर्यो । बैंकको गेटबाट भित्र छिर्ने बेला त्यहाँ उभिएका सुरक्षा गार्डले भने – 'लौ आजलाई पैसा सकियो, भोलि आउनु।'

गार्डको कुराले निराश हुनै लाग्दा उताबाट नयाँ नोटको बण्डल बोकेर आएका एक दयालुले दया देखाउँदै भने– 'अलि पर हिँड्नुहोस्, सयमा ९० दिँदा भने थोरै म सहयोग गर्छु । त्यही पनि लिनै पर्यो, भोलि भ्याइँदैन।'

सय रुपैयाँमा ९० रुपैयाँको नयाँ नोट पनि मिल्यो । बसभाडा र खाजामा डेढ सय रुपैयाँ खर्च गरेर दुई रुपैयाँ सस्तो नुन, चिनी पनि पाइयो । अब एक दुई जोर लुगाफाटा किन्न पाए दशैँ टर्थ्यो ।

‘ए दाजु कता, यता आउनुहोस् तपाईंलाई विशेष छुट ।’

‘त्यता हैन, यता सस्तो छ, तपाईंलाई भनेर साँचेर राखेको, ल आइहाल्नुहोस् ।’

‘हैन हैन यता ५० प्रतिशत छुट ।’

‘त्यता हैन यता अफर र उपहार छ । यता त एउटा किन्दा अर्को सित्तैमा, यता आउनुहोस् ।’

ओहो कता मात्रै जाने ? सरकारले भन्दा बढ्ता त व्यापारी पो हामीलाई दशैँ मनाइदिन मरिमेट्दा रहेछन् । कता पस्ने भनेर अलमल भयो । नजिकैको पसलबाट पसले हातै तान्न आइपुगे ।

‘ल हिँड्नुहोस्, तपाईंले खोजेजस्तो उता छ । किन्छु मात्रै भन्नुहोस्, सबै तपाईंकै भयो ।’ सित्तैमा दिउँलाझैँ गरी उनले तानेर लगे ।

जे हेरे पनि किनौँ किनौँ जस्तो । पहिले जुत्ता किन्नुपर्यो भनेर भाउ सोधियो । 

‘अरुबेला हो भने २ हजार, दशैँलाई विशेष छुट, ११ सय मात्र’ पसलेले भने । यही जुत्ता दुई महिनाअघि ८ सयमा किनेको, अहिले कसरी ११ सय ? सोध्न नपाउँदै पसलेले भने, ‘हैट त्यो नक्कली, यो असली हो । लगेर दराजमा थन्क्याउनुहोस्, घामपानीबाट जोगाउनुहोस्, दुई वर्ष केही भएछ भने फिर्ता ल्याउनुहोस् । खास मूल्य दुई हजार हो, अहिले विशेष छुट ।’ 

दुई वर्ष दराजमा राख्नु पर्यो भने अहिले किन किन्न आइन्थ्यो र भन्नै लाग्दा पसलेले फेरि भने, ‘ल यो जुत्ता किन्नुभयो भने तुना सित्तैमा ।’ 

तुना त यसै पनि सित्तैमा हो नि । भन्न नभ्याउँदै पसलेले पुरानो खालको एउटा मोजा देखाउँदै थपे, ‘ल ल यो मोजा पनि सित्तैमा लैजानुस्, जुत्ता किन्दा तुनासँगै मोजा समेत उपहार !’

सित्तैमा र उपहार भन्ने कुरा सुनेपछि जुत्ताको भाउ महँगो लागेन । त्यसमाथि अरुबेला २ हजार पर्ने रे, अहिले ११ सयमा पाइयो, तुना र मोजा सित्तैमा, घामपानीमा नदेखाइ दराजमा राख्यो भने दुई वर्षसम्म केही नहुने । भनेपछि अर्को दुईटा दशैँमा नयाँ जुत्ता किन्न पर्दैन ! 

अर्को पसलमा पनि उस्तैखाले पसले भेटिए । सबै दशैँको खुशी बाँड्न बसेका । अरुबेला भन्दा सस्तोमा बेच्न बसेका । जहान र छोराछोरीलाई समेत एक एकजोर लुगाफाटा बोकेर बसपार्क पुगियो । खल्तीमा घरसम्म पुग्ने भाडा त बाँकी रहेछ ।

बसपार्कमा जता फर्के पनि मान्छे नै मान्छे । बसभन्दा धेरै मान्छे । यति धेरै मान्छेलाई घरघरमा पुर्याउन भनेर व्यवसायीले उहिलेदेखि नै अग्रिम टिकट खुलाएका । सरकार र बैंकवालाले नयाँ नोट बाँडेका छन् । पसलेले खाद्यान्न र लुगाफाटामा अफर दिएका छन् । गाडीवालाका पनि त होलान् नि दशैँमा सेवा, सुविधा !

त्यहीबेला एकजना केटो आइपुग्यो । ‘ए दाजु कता ? ल है जाने भए चमेरे सिट खाली छ’ केटोले भन्यो । चमेरे सिट.... सुन्दैमा मज्जा लाग्यो । भनेपछि गाडीवालाले पनि नयाँ अफर दिएका रहेछन्, सिट मात्रै होइन, चमेरे सिट । कस्तो होला यो चमेरे सिट । आरामदायी, आनन्दको, बसेपछि उठ्न नपर्ने .....। बसको सिटभरि मान्छे छन् । अझै पछिल्तिरसम्मै उभिएका छन् । मुस्किलले खुट्टा राख्ने ठाउँ मात्रै छ ।

‘ए भाइ खै त चमेरे सिट ?’ 

‘यही त हो नि चमेरे सिट, चमेरोले जस्तो झुण्डिएर जाने’ अघिदेखि झुण्डिएर बसेको अर्को मान्छेले भन्यो, ‘हामीलाई पनि यही भनेर ल्याएको, के गर्नुहुन्छ अरु गाडी पाइँदैन । पाए पनि यस्तै हो, सिट छैन।’

सास्ती नै भए पनि सरकार, व्यवसायी र व्यापारीले हाम्रो लागि मरिहत्ते गरेका छन् । खाइ, नखाइ हाम्रै सेवा गरेका छन् । उपहार, सहुलियतको बहार ल्याइदिएका छन् । हामीलाई दशा नै भए पनि उनीहरुलाई दशैँ ल्यायौँ भन्ने त भएको छ । त्यसमाथि पोहोर कोरोनाले जितेर मनाउन नपाएको दशैँ, यसपालि कोरोनालाई झुक्याउँदै मनाउन पाइएको दशैँ !

अन्तिम अपडेट: बैशाख १०, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया