मकवानपुर : सडक दुर्घटनामा चार जनाकाे ज्यान गयाे

 असोज ३०, २०७८ शनिबार २०:४४:२२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा भएका दुई अलग अलग दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् । 

शनिबार साँझ हेटौडा भिमफेदी कुलेखानी  सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर–२ लामिबगरमा यात्रु लिएर काठमाण्डौ बाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ४५११ नम्बरको शिखरपुर यातायातको सुमो आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी दुईसय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयाे । 

सुमोमा सवार चालक सहित १० जना घाइते भएका मध्ये ६ जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएकोमा दुईजनाको उपचारको क्रममा ज्यान गएको र ज्यान जाने दुवै पुरुष रहेको प्रहरी निरीक्षक दासले बताउनुभयाे । सुमो चालक सहित अन्य ४ जनालाई थप उपचारका लागि हेटौंडा ल्याइएको र घाइते तथा मृतक कसैको पनि पहिचान नखुलेको जनाइएको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । गएराति नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा–१५ बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले बताउनुभयो । ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया