कर्णालीका नागरिकलाई धनी बनाउने सपना छ : कर्णाली प्रदेशका मन्त्री शर्मा

 असोज ३१, २०७८ आइतबार २०:१२:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णालीका प्रत्येक नागरिकलाई धनी बनाउने आफ्नो सपना रहेको बताउनुभएको छ । उहाँले अझ रुकुमका नागरिकलाई कसरी स्वरोजगार बनाउने र कसरी समृद्ध समाज बनाउने भनेर प्रदेश सरकार विभिन्न योजना बनाएर कार्यान्वयनतर्फ लागेको उल्लेख गर्नुभयो । 

आज आइतवार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय प्रगतिशील युवा क्लबले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा बोल्नु हुँदै मन्त्री शर्माले गरिबलाई धनी र धनीलाई समुन्नत बनाउने सपना रहेको बताउनुभयो ।  

उहाँले माओवादी नेतृत्वमा रहेको वर्तमान कर्णाली प्रदेश सरकार विकासका पूर्वाधार निर्माणमा कस्सिएको र यहाँ सडक, बिजुली, सिँचाइ, कुलोको क्रमशः विकास भएको बताउनुभयो । मन्त्री शर्माले युवालाई आफ्नो कार्यभार सम्हाल्न अनुरोध गर्नु हुँदै साथमा कर्णाली प्रदेश सरकार रहेको जनाउनुभयो । 

मन्तव्यका क्रममा मन्त्री शर्माले रुकुम सदरमुकाम खलङ्गादेखि आठबीसकोटको राडीसम्मको बाटो कालोपत्र यही वर्ष हुने र बाँफिकोटको खेल मैदान पनि बन्ने आश्वासन दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया