हेटाैँडा–काठमाण्डाै चल्ने जीपमा यात्रु ठगिँदै, कारबाही नगरेकाे गुनासाे

 असोज ३१, २०७८ आइतबार १९:१७:१६ | हरि हुमागाईं
unn.prixa.net

साङ्केतिक तस्बिर

हेटौँडा : हेटौँडा–काठमाण्डौ चल्ने जीपले यात्रुलाई ठग्न थालेका छन् । पहिले दशैँको टीकाको दिन अगाडि मात्रै काठमाण्डौबाट हेटौँडा आउँदा यात्रुसँग दोब्बर भाडा लिँदै जीपले अहिले दुवै तर्फबाट ओहोरदोहोर गर्दा यात्रुलाई ठग्न थालेका छन् । 

दशैँको टीकाको भोलिपल्टदेखि हेटौँडाबाट काठमाण्डौ जाने र काठमाण्डौबाट हेटौँडा आउने जीपले यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिन थालेका हुन् । जीपको कृत्रिम अभाव सृजना गरेर यातायात व्यवसायीहरूले यात्रुलाई ठग्न थालेका हुन् । काठमाण्डौबाट हेटौँडा आउँदा नारायणी यातायात व्यावसायी सङ्घको जीपले एक यात्रु सँग एक हजार रुपैयाँका दरले लिएको मकवानपुरगढीका सुशान्त चौलागाईँले बताउनुभयो । 

पहिले जीप छैन भन्ने अनि पछि यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिने गरेको यात्रुहरू गुनासो गर्छन् । हेटौँडाबाट काठमाण्डौ लैजाँदा जीपले एक हजारदेखि १२ सय रुपैयाँसम्म भाडा असुल गरिरहेका छन्, यात्रुलाई टिकट भने पाँच सय ७५ रुपैयाँको थमाउने गरिएको छ । धेरैले त टिकटसमेत दिने गरेका छैनन् । हेटौँडा बजारमा बाक्लो मात्रामा छरिएका प्रहरी पनि यात्रु ठग्दा रमिते बनेर बसेका छन् । 

जीपले यात्रुलाई ठगेको गुनासो आएकाले यसको नियन्त्रण गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । प्रहरी परिचालन गरेर यात्रुलाई ठग्नेलाई नियन्त्रण गर्न तत्काल लागिने उहाँले आश्वासन दिनुभयो । हेटौँडाबाट छोटो दुरीको मार्ग भएर काठमाण्डौँ जाने यात्रुसँग बढी भाडा लिइँदै आएको हो । तर हेटौँडाको चौकी टोलमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको जाँच भए पनि यसलाई नियन्त्रण गर्न कुनै चासो दिइएको छैन ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया