देशकै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन

 जेठ २०, २०७५ आइतबार ७:३०:४६ | रासस
unn.prixa.net

नवलपरासी – अबको दश वर्षमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि बर्सेनि आयात गरिने २४ अर्ब रुपैयाँ बराबरको एलपी ग्यासको आयात घटाउन सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताउनुभएको छ  ।

रामग्राममा स्थापना गरिएको ठूलो क्षमताको वायोग्यास प्लान्टको उद्घाटन गर्दै मन्त्री पुनले वर्षमा झण्डै साढे सात अर्ब रुपैयाँ बराबरको व्यापार घाटालाई कम गर्न आयातीत इन्धनमाथिको निर्भरता घटाउनु जरुरी रहेको बताउनुभयो । जलवायु लगानी कोषको सहयोगमा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान तथा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले सो बायोग्यास प्लान्टको स्थापना गरेको हो । 

उहाँले ठूला क्षमताका वायोग्यास प्लान्टमा निजी क्षेत्रको ठूलो लगानी रहने र उच्च जोखिम पनि हुने हुँदा यसलाई कम गर्न सरकारले पनि सहयोग गर्न नीतिगत व्यवस्था गरिने बताउनुभयो ।  

कार्यक्रममा प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले फोहरबाट ग्यास निकाल्न सकिने ठूला आकारका वायोग्यास प्लान्ट स्थापनामा प्रदेश सरकारले पनि सहयोग गर्ने उल्लेख गर्नुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नगरपालिकाहरुमा बढ्दो फोहरको समस्या समाधान गर्न यसखालका ठूला क्षमताका बायोग्यास प्लान्ट राख्न सकिए ऊर्जा र वातावरणमा सहयोग पुग्ने बताउँदै देशका विभिन्न ३७ वटा नगरपालिकाले व्यावसायिक ठूला क्षमताका बायोग्यास प्लान्ट गर्न केन्द्रले समझदारी गरिसकेको जानकारी दिनुभयो । 

प्लान्टका सञ्चालक सन्दीप अग्रवालले सुरुमा व्यक्तिगत लगानीमा ठूलो प्लान्ट जडान गर्नु जोखिमपूर्ण रहेकाले सरकारले सहुलियत दरमा कर्जा र अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

देशमै हालसम्म जडान भएको सबैभन्दा ठूलो तीन हजार ७५० घनमिटर क्षमताको यस प्लान्टबाट दैनिक १ सय ४० वटा सिलिन्डर ग्यास निस्कनुका साथै १२ टन जैविक मल उत्पादन हुने गर्छ । 

जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग खपत हुने गर्दछ । कूल २१ करोड रुपैयाँ लगानी रहेको यस प्लान्टबाट उत्पादित ग्यास हाल ५० भन्दा बढी होटल, रेस्टुरेंट, सिमेन्ट उद्योगजस्ता व्यावसायिक प्रतिष्ठानका लागि विक्री गर्ने गरेको सो अवसरमा जानकारी दिइयो । 

बायोग्यासमा दैनिक ३६ टन गाईको गोबर, कुखुराको सुली, चिनी मिलबाट निस्कने ताजा मड र अन्य बायोग्यास आवश्यक पर्छ । यसका लागि नवलपरासी, रुपन्देहीका विभिन्न पशुपालन केन्द्रबाट गाईभैँसीको गोबर चितवनबाट कुखुराको सुली ल्याउने गरिन्छ । रासस

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया