राजविराज नगरपालिकामा सेनेटरी प्याड खरिद प्रकरणमा १९ लाख बेरुजु

 कात्तिक २, २०७८ मंगलबार १२:५८:१४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको राजविराज नगरपालिकाले १९ लाख भन्दा धेरै रकमको सेनेटरी प्याड नियम विपरित खरिद गरेको पाइएको छ । नगरपालिकाले महालेखा परीक्षकको प्रतिवेदन २०७८ अनुसार कार्यविधि तथा योजना विपरीत नै १९ लाख ८६ हजार ८ सय ६१ रुपैयाँ ४९ पैसा बराबरको प्याड खरिद गरी यशोदा फर्मा लिंकलाई भुक्तानी गरेको पाइएको हो ।

किनिएका प्याड बितरण नभई अझै स्टोरमा खर्च नगरी बाँकी देखिएकाले प्याड खरिद प्रकरणमा १९ लाख रुपैयाँ भन्दा धेरै बेरुजु देखिएको छ । जुन प्रयोजनका लागि खरिद भएको थियो सो बमोजिम गरिएन, कार्यविधि तथा योजना बिना नै खरिद गरेको तथा हालसम्म बितरण नगरेकाले खरिद गर्नकै लागि मात्र प्याड खरिद गरेको देखिएको प्रतिवेदनमा भनिएको छ । किनिएका सेनेटरी प्याड लामो अवधिसम्म स्टोरमा राख्दा गुणस्तरमा ह्रास आउने तथा प्रयोग गर्ने मिति समेत समाप्त हुने सम्भावना भएकाले कार्यक्रमको आशयअनुरुप वितरण गरिसक्नुपर्नेमा सो नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्याड खरिद गरेर वितरण नगरिएकाले सम्बन्धित फर्माबाट खरिदमा लागेको रकम असुल उपर गर्नुपर्ने वा समयमा प्याड लक्षित ठाउँमा पुगिसक्नु पर्ने महालेखा परीक्षकको प्रतिविदनले जनाएको छ । यता राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवले प्याड वितरण नभएको स्वीकार गरेका छन् । खरिद गरिएको प्याड वितरणको तयारी भएको जानकारी गराउँदै शिक्षा शाखा प्रमुख यादवले हाल स्टोरमा रहेको बताए । उनले स्टोरको साँचो कर्मचारीसँग रहेकाले प्याड देखाउन नसिएको प्रतिक्रिया दिए ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया