डोटीमा दुई दिनदेखि फोन सेवा र बिजुली बन्द

 कात्तिक २, २०७८ मंगलबार १९:१९:११ | विमल बिष्ट
unn.prixa.net

साङ्केतिक तस्बिर

डोटी – दुई दिनदेखिको वर्षाका कारण डोटीमा फोन र विद्युत् सेवा बन्द भएको छ । डोटीमा वितरण गरिएको ३३ केभीए प्रसारण लाइनमा रुख परेका कारण विद्युत् सेवा बन्द भएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ । विद्युत् सेवा बन्द भएसँगै सञ्चारमाध्यमका साधन पनि बन्द भएका छन् । 

विद्युत् नभएका कारण नेपाल टेलिकमका ल्यान्ड लाइन र एफटीटीएच (नेट) सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । विद्युत् सहित नेट सेवा दुई दिनदेखि बन्द भएपछि यहाँका सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्न नपाएका र जिल्लामा रहेका केही एफएम रेडियो पनि बन्द भएका घण्टेश्वर एफएम बुडरका स्टेशन म्यानेजर शिव ओलीले बताउनुभयो । 

जिल्ला नै सञ्चार सम्पर्कविहीन भएका कारण बाढी–पहिरोका कारण कुन ठाउँमा के–कति क्षति भयो भन्नेबारेमा जानकारी लिन समस्या भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताउनुभयो । तीन दिनदेखिको वर्षाका कारण डोटीका विभिन्न ठाउँमा पहिरो गएको खबर आएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक .इन्स्पेक्टर) रवीन्द्र चन्दले जानकारी दिनुभयो । 

वर्षापछि यहाँका नदीहरूमा पानीको बहाव बढेकाले नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत राख्न तथा विपद् आइपरे उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वर्षाका कारण यहाँका किसानले काटेका धान पनि बाढीले बगाएको छ भने केही क्षेत्रका खेतमा पानीले पूरै धान डुबाएको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया