साँच्ची, याे सरकार कसले चलाएकाे छ भनेर कसैले भन्न सक्छ ? : केपी ओली

 कात्तिक ३, २०७८ बुधबार १५:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गर्नुभएको छ । सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाउनुभएको हो । 

आज बुधवार काठमाण्डाैमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो । यो नायवीद्वारा चलिराखेको छ, निमित्त नायकको सरकार । नायक होइन । मैले भनेँ अघि नै, यो सरकार आलोचना गर्न पनि लायक रहेन क्या ! टिप्पणी गर्न पनि लायक रहेन यो सरकार । जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ? जो अगाडि छ, बिचरा, अर्काले चलाएको नायवीमा चलेको छ के भन्नु ? त्यो हालतमा छ । साँच्ची यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ नेपालमा ? कसले चलाएको छ कसले ? भित्रकाले चलाएका छन् कि बाहिरकाले चलाएका छन् कि ? पर्दा पछाडिकाले चलाएका छन् कि, पर्दा अगाडिकाले ? यस्तो स्थितिमा छ ।’

अध्यक्ष ओलीले देशलाई आउँदाे चुनावबाट एमालेको विजय चाहिएको बताउनुभयो । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उहाँको दाबी थियो । अध्यक्ष ओलीले कांग्रेस आउँदाे चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि ऊसँग नागरिकमा जाने कुनै एजेन्डा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशलाई चाहिएको एउटै मात्रै कुरा छ–जम्माजम्मी एउटै मात्रै कुरा के हो भने एमालेको दिग्विजय । एमालेको विजय चाहिएको छ । अरू केही चाहिएको छैन । एमाले विजय भएन भने केही पनि हुँदैन । अरूसँग केही छँदै छैन । न गन्तव्य, न बाटो, न प्रतिबद्धता न सङ्कल्प । अनि यसो च्याखे थापेर खालमा बस्छन् नि, खालमा बसेकाहरूको बीचमा उनीहरूले चाहिँ खेल्छन् मोटामोटी । अनि च्याखेले सानोतिनो रकम छ्यास्स यतापट्टि, यतापट्टि भनेर हाल्छन् । च्याखे हालेर उसले जित्यो भनेदेखि गयो भने सुका मोहर गयो, आयो भने सुका मोहर गर्दै अलिअलि आयो । यो खालका च्याखेहरूको हार–जित पनि खास हुने होइन । तर खिचिखिची चाहिँ रहिरहन्छ । यस चुनावदेखि हामीले च्याखेहरूलाई पनि आउट गरिदिनुपर्छ । हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हो । नेपाली कांग्रेससँग नागरिककाे बीचमा जाँदाखेरि के देखाउने ? के गरेँ भन्ने ? अहिलेसम्म कांग्रेसले के गर्‍याे भन्ने ? अब के गर्छु भन्ने ?’

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई चुनावबाट नागरिकले बदर गरिदिने चेतावनीसमेत दिनुभयो । उहाँले अदालतले नागरिकबाट विश्वास गुमाइसकेको उल्लेख गर्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई चिन्ता छ । अहिले हेर्नुस् त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र ? नागरिकले केही भएन भने पनि अदालतमा न्याय पाउँछु भन्ने विश्वास गर्नुपर्ने होइन ? हेर्नुस् त महाअभियोग पनि लाग्न सक्छ भनेका छन् । जनस्तरबाट राजीनामा गर भनेका छन् । के–के आरोप छ, तपाईँ–हामी जम्मै सुनिराखेका छौँ । अदालतप्रतिकाे विश्वास आज धराशायी भएको छ । मैले अघि अगाडि नै भनेँ– हामी मुद्धा जित्छौँ, हार्छाैँ भन्ने होइन । पार्टी दर्ता हुँदैमा के हुन्छ र ? दर्ता भए त्यहीँ चुनावसम्म घस्रिएर जाने होइन ? चुनावमा नागरिकले यस्तो पार्टी त दर्ता गर्दैन त । आयोगमा दर्ता गरिएका यस्ता पार्टीलाई चुनावमा नागरिकले बदर गरिदिन्छ । नागरिकप्रति सरकार इमानदार छ भन्ने कुरामा नागरिक विश्वस्त हुनुपर्दछ । देशप्रति सरकार इमानदार छ भन्ने कुरा विश्वस्त हुुनुपर्छ । तर त्यो स्थिति छैन ।’

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी चुनावकाे तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।      

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया