जुम्लाको प्रारम्भिक क्षति : १ सय ५२ भेडा–बाख्रा र १८ हेक्टर मार्सी धानको फाँट बाढीले बगायो

 कात्तिक ३, २०७८ बुधबार १७:३१:११ | नेत्र शाही
unn.prixa.net

जुम्ला – गएको तीन दिनदेखि लगातारको वर्षा र बाढीले देशभरको जनजीवन प्रभावित बनेको छ । यसैबीच वर्षा र बाढीले जुम्लामा पुर्याएको क्षतिको विषयमा जानकारी दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईँले प्रस्तुत गर्नुभएको जिल्लाको क्षति विवरणमा हिमा गाउँपालिका ६ का रत्ना शाही बेपत्ता हुनुभएको छ । 

यस्तै तिला र भेरी नदीको बहाव बढ्न गइ नदी छेउछाउका १८ हेक्टर कालीमार्सी धानको क्षति भएको छ । सिञ्जा क्षेत्रको धानको क्षति भने आउन बाँकी छ । 

प्रजिअ पसाईँका अनुसार तातोपानी र तिला गाउँपालिकामा एक सय ५२ भेडाबाख्रा र तातोपानीमा तीन भेडा संरक्षणका लागि राखिएका कुकुरलाई बाढीले बगाएको छ । 

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा धेरै क्षति भएको बताउनुभएको छ । तिला गाउँपालिकामा पनि धेरै नै क्षति भएकाले अध्यक्ष रतननाथ योगी र उपाध्यक्ष विष्णुमाया बुढा क्षतिग्रस्त क्षेत्रतिर हुनुहुन्छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले मार्सी धानको बिउ जोगाउनै कठिन हुने भएको जानकारी दिनुभयो । उहाँले बालीमा मात्रै अनुमानित ६ करोड रुपैयाँ बराबरको क्षति हुने जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया