बाढी पहिरो प्रभावितलाई आजैदेखि आर्थिक सहयोग वितरण गरिने

 कात्तिक ४, २०७८ बिहीबार ७:५८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बाढी पहिरो प्रभावितहरुलाई आर्थिक सहयोगको काम आजैदेखि थालिने सरकारले जनाएको छ  ।

ज्यान गुमाएकाका परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय आजैदेखि कार्यान्वयन हुने गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रभावित ठाउँको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आर्थिक सहायताको काम थालिने छ ।

जिल्ला विपद् व्यवस्थापन कोषमा पहिले नै विपद्का बेला खर्च गर्ने भनेर स्थापना गरिएको कोषमार्फत आर्थिक सहायताको काम सुरु गरिने उहाँले बताउनुभयो । कोषमा पर्याप्त रकम नभएमा जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल गृह मन्त्रालयसँग  रकम माग गर्न सक्ने र गृह मन्त्रालयले तुरुन्त रकम निकासा गर्ने पनि उहाँले बताउनुभयो ।

बाढी पहिरो पीडितले राहतको लागि आफ्नो पालिकामा सम्पर्क गर्न सक्नेछन् । सरकारले बाढी पहिरोका कारण ज्यान गुमाएकाका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने तथा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको ज्यान गएको भए दुई लाख र त्यो भन्दा धेरैको ज्यान गएको भए सङ्ख्या अनुसार एक लाख रुपैयाँका दरले थप सहयोग गर्ने निर्णय गरेको छ । यस्तै, घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन ५० हजार रुपैयाँ र पछि घर निर्माणका हिमाली भेगमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । साथै जग्गा जमिन नभएकाहरूको हकमा जमिन खरिदका लागि प्रतिपरिवार तीन लाख रूपियाँ उपलब्ध गराउने वा सामूहिक घरको व्यवस्था गर्ने निर्णय पनि भएको छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया