प्रधानमन्त्रीकाे निर्देशन : बाढी–पहिरो प्रभावितकाे उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गर्नू

 कात्तिक ४, २०७८ बिहिबार १४:३:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित ठाउँमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।  

प्रभावितहरूलाई सरकारले राहत दिने तथा बाढी–पहिरोले घर भत्किएकाहरूको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक छ, तपाईँहरूले प्रभावितलाई चुस्त रूपमा सेवा दिनुहोला ।’

आज बिहीवार सुदूरपश्चिम प्रदेशको डोटीको दिपायल आइपुग्नुभएका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरूको उद्धार र राहतका लागि निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थ मन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले लगायत हुनुहुन्छ । प्रधानमन्त्रीसहितको यो टोली बाढी प्रभावित सुदूरपश्चिमका नौ वटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा दिपायल आइपुगेको हो । 

प्रधानमन्त्री देउवासँगै निरीक्षणमा आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले बाढी–पहिरोमा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बताउनुभयो । मन्त्री आलेले बाढी–पहिरोले बन्द राजमार्ग तथा ग्रामीण क्षेत्रका सडक सञ्चालनका लागि सम्बन्धित मन्त्रालयमार्फत निर्देशन भइसकेकाले तत्काल काममा खटिन कर्मचारीलाई पनि आग्रह गर्नुभयो । 

डोटीमा मात्रै बाढी–पहिरोका कारण अहिलेसम्म १४ जनाको ज्यान गएको र एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो । प्रजिअ विष्टले डोटीमा बाढी–पहिरोमा परि अन्य १३ जना घाइते भएको बताउनुभयो । बाढीको क्षतिबारे दिपायलमा जानकारी लिएर प्रधानमन्त्रीसहितको टोली आजै बझाङ चैनपुर जाने कार्यक्रम तय भएको छ ।

यसैगरी यो टाेली बैतडी र डोटीको सीमा क्षेत्र ढुङ्गाड जाने कार्यक्रम रहेको र ढुङ्गाडमा भएको क्षतिका विषयमा स्थलगत निरीक्षण गरी डडेल्धुरा सदरमुकाम पुग्ने बताइएको छ । साथै यो टोली जोगबुढाबाट कञ्चनपुर पुगेर सदरमुकामका साथै त्यहाँका बाढी प्रभावित क्षेत्र दोधारा–चाँदनी, ब्रह्मदेव क्षेत्रमा बाढीको क्षतिका बारेमा निरीक्षण गरी कैलालीको धनगढी फर्किने कार्यक्रम तय भएको छ । 

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया