एमाले नेतृत्वको सरकारले जनहितका धेरै काम गर्‍याे : मुख्यमन्त्री शाक्य

 कात्तिक ४, २०७८ बिहिबार १८:५:१६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सभाको बैठक सुरु भएकाे छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक सुरु गर्नुभएकाे छ । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्नका लागि एमाले नेतृत्वको सरकारले झन्डै साढे तीन वर्षको कार्यकालमा गरेको कामको समीक्षा गर्नुभएकाे छ । उहाँले एमालेको नेतृत्वमा जनहितका लागि प्रभावकारी काम भएको समेत बताउनुभयाे । 

प्रदेशमा ६ सय ४० पक्की सडकको वहुवर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लामा खानेपानीको पहुँच विस्तार गरिएको, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य हबको रूपमा विकास गर्ने गरी काम भइरहेको, कृषि क्षेत्रको विकासका लागि किसानलाई मल, बिउ–बिजन उपलब्ध गराउने कार्य गरिएको, युवा र खेलकुद कार्यक्रम लक्षित गरी ९१ वटा खेल सञ्चालन गर्ने गरी तयारी गरिएको, शैक्षिक गुणस्तर विस्तारको लागि पहल भएको, उद्योग कलकारखानाको संरक्षण तथा विस्तारमा पहल भएको मुख्यमन्त्री शाक्यले उल्लेख गर्नुभएकाे छ ।

आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै प्रदेश सरकारका मन्त्रीहरूका लागि आचारसंहिता लागू गरेकाे, प्रदेशमा स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना बनाइएको उहाँले उल्लेख गर्नुभयाे । मुख्यमन्त्री शाक्यले सिन्धुपाल्चोकमा केही महिनाअघि आएको बाढी–पहिरो प्रभावितका लागि ९० लाख रुपैयाँ पठाइएको, विपद् व्यवस्थापनमा प्रत्येक जिल्लामा १०–१० लाख रुपैयाँ पठाइएको पनि सुनाउनुभयाे । 

प्रदेश सरकार आत्मनिर्भरतर्फ उन्मुख भएको, वित्तीय अनुशासन कायम गर्न आवश्यक सजगता अपनाइएको, सबैभन्दा कम बेरुजु हुने प्रदेशका रूपमा वाग्मती प्रदेश स्थापित भएको उहाँको दाबी छ । उहाँले सुशासन कायम गर्नका साथै सार्वजनिक खर्चमा मितव्ययिता अपनाइएको, १३ वटै जिल्लामा पीसीआर मेसिन र अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि बताउनुभयाे । 

मुख्यमन्त्री शाक्यले सुदृढ राष्ट्रिय अर्थतन्त्र विकास गरेरमात्र समाजवादतर्फको यात्रामा अघि बढ्न सकिने प्रस्ट पार्नुभयाे । उहाँल आफ्नो नेतृत्वको सरकारले समाजवादउन्मुख कार्यक्रमको प्रारम्भिक खाका तयार पारेको पनि बताउनुभयाे । 

मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्याे प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयाे । 

गएकाे भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त हुनुएकी शाक्य अहिले अल्पमतमा हुनुहुन्छ । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि उहाँ अल्पमतमा पर्नुभएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया