विपदमा जनप्रतिनिधिको बेवास्ता

 कात्तिक ५, २०७८ शुक्रबार ११:१:३ | अमर सुनार
unn.prixa.net

दैलेख – लगातारको वर्षाका कारण आइपरेका विपदमा परेकालाई उद्धार तथा पुन:स्थापना गर्न जनप्रतिनिधिले बेवास्ता गरेका दैलेखका स्थानीय बासिन्दाकाे गुनासाे छ ।

पहिराेले बन्द भएका सडक खुलाउन तथा घर भत्किएका व्यक्तिलाई सहयाेग जुटाउन पहल गरे पनि जनप्रतिनिधिले वास्ता नगरेका उनीहरुले गुनासाे गरेका हुन् ।

वर्षाका कारण घर भत्किएपछि जनप्रतिनिधिसँग पुन:स्थापनाका लागि अपिल गरे पनि कुनै सहयाेग नपाएकाे स्थानीय डिल्ली परियारले बताउनु भएकाे छ । आठ लाख लागतमा निर्माण भएकाे घर भत्किएपछि विवरण टिपाउँदा पनि दुई लाख मात्रै क्षति भएकाे विवरण वडा कार्यालयका सचिवले टिपेकाे उहाँले गुनासाे गर्नुभयाे । 

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समेत बन्द भएका सडक सञ्चालनमा ल्याउन सहयाेगका लागि फाेन गर्दा जनप्रतिनिधिहरुसँग सम्पर्क हुन नसकेकाे बताउनु भएकाे छ । 'कर्णाली राजमार्ग, दैलेख–सुर्खेत र मध्यपहाडी राजमार्गमा ठाउँठाउँ पहिरोले सडक बन्द भएको बेला सहयोग माग्न खोज्दा जनप्रतिनिधिहरुले मोबाइल अफ गरेर बसेका समेत पाइयो' उहाँले भन्नुभयाे ।

यस्तै दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले पनि पहिरोले सडक बन्द हुँदा प्रहरीमै गुहार माग्न थालेपछि सडक विभागको डोजर ल्याएर आफूले डिजेल भरेर सडक खुलाउनु परेको बताउनु भएकाे छ । 

‘बाटोमा अलपत्र परेका यात्रुका मर्का सुन्नै पर्याे । पाकेटकै पैसा खर्च गरेर सडक खुलाइयो’ डीएसपी श्रेष्ठले भन्नुभयो । कर्णाली नदीमा बहाव बढेपछि आठबीस नगरपालिका–१ रामाघाट, वडा नं. २ को टुनीबगर, चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ पालतडाका स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने, दैलेख–सुर्खेत राजमार्गको सियाकोट र कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो हटाउन प्रहरीले नै पहल गरिरहेकाे छ ।

कर्णाली राजमार्ग बन्द भएयता आठबीस नगरपालिकाका मेयर खड्गप्रसाद उपाध्यायका दुई वटै मोबाइल अफ गर्नुभएकाे स्थानीयले बताएका छन् ।  ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने आफू यति बेला सुर्खेतमा भएको बताउनु भएकाे छ । 

जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाहले भन्नुभयो ‘धेरैले मोबाइल अफ गरेको र आफ्नै जनतालाई विपद् परेको ठाउँमा उपस्थित नभएको भन्ने मैले सुनेँ, यो जनप्रतिनिधिहरुको गैरजिम्मेवारीपन हो।’ दशैँमा सबै व्यस्त भएका र कर्मचारीहरु नभएको बेला भौतिक सहयोग गर्न सक्ने अवस्था नभएका कारण जनप्रतिनिधिहरुले बेवास्ता गरेको पाइएको उपप्रमुख शाहले बताउनुभयो। 

अन्तिम अपडेट: चैत ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया