विवादबीच संवैधानिक इजलास सम्बन्धी मुद्दाको सुनुवाइ तोकियो

 कात्तिक ९, २०७८ मंगलबार १२:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न माग गरिएको मुद्दामाथि सुनुवाइ तोकेको छ ।

इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने भन्दै अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको मुद्दामा आजका लागि पेसी तोकेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दामाथि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलास तोक्नु भएको हो  ।

डा. रेग्मीले भदौ १६ मा दर्ता गराएको मुद्दामा भदौ १७ मा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न आदेश गरेको थियो ।

आदेशमा नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनबाट चार वरिष्ठ अधिवक्तालाई एमिकस क्युरी (अदालतका सहयोगी) झिकाउने आदेश गरेको थियो। तर, दुवै बारले एमिकस क्युरी नपठाएपछि मुद्दामाथिको सुनुवाइ अगाडि बढ्न सकेको छैन ।

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको विषयलाई लिएर प्रधानन्यायाधीश जबराको आलोचना हुँदै आएको छ । सर्वोच्चकै  न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेटेरै राजीनामा दिन आग्रह गर्दै छन् । तर, उहाँले भने कसैको दबाब र प्रभावका परेर राजीनामा नदिने बताउनु भएको छ ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा जबराले आफूले दबाबमा परेर राजीनामा नदिने बताउनु भएको हो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया