प्रदेश २ मा विश्वविद्यालय स्थापनासम्बन्धी दुई अध्यादेश सिफारिस

 कात्तिक ९, २०७८ मंगलबार १८:४:५४ | शुभनारायण यादव
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुई वटा अध्यादेश सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को आज मङ्गलवार सम्पन्न बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयाे ।  

प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुनेछ । 

कृषि तथा प्राविधिकसम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन गर्न, अध्ययन/अनुसन्धानलाई स्तरीय बनाउन विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरिएको हो ।

जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो । 

यसैगरी प्रदेश सरकारले 'ग्रीन सिटी क्लिन सिटी' अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगञ्जमा सरसफाइ, बिजुली बत्ती तथा वृक्षारोपण कार्य सञ्चालन गर्ने निर्णय पनि गरेएको प्रवक्ता साहले बताउनुभयाे ।  

मन्त्रिपरिषदले प्रदेश सरकारद्वारा सञ्चालित विकासकाे काममा ढिलाइ गरेकाे पाइए त्यस्ता ठेकेदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया