बिजुलीकाे महसुल घट्यो, विपन्न वर्गकाे न्यूनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै

 कात्तिक १०, २०७८ बुधबार १७:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – आउँदो मङ्सिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत् नियमन आयोगले आज बुधवार पत्रकार सम्मेलन गरेर आउँदो मङ्सिर महिनाको उपयोग अर्थात् पुस महिनाको बिलिङदेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो । 

नयाँ विद्युत् दरअनुसार विपन्न वर्ग अर्थात् ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताउनुभयो । 

यस्तै सिङ्गल फेजबाट विद्युत् लिएर एक सय ५१ देखि दुई सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाइ प्रति युनिट नाै रुपैयाँ ५० पैसा कायम गरिएको छ । चार सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रति युनिट एक रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ । 

थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक चार सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई अहिले प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ । 

चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि अहिले कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ । 
ट्युबेल सञ्चालन गर्ने उपभोक्ता तथा सिँचाए उपभोक्ताका लागि अहिले रहेको महसुलमा ४० दशमलव ६९ प्रतिशत घटाइएको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया