सडक बन्द हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा औषधि ढुवानीमा समस्या

 कात्तिक ११, २०७८ बिहिबार ९:३८:४१ | विमल बिष्ट
unn.prixa.net

डाेटी - बाढी पहिरोका कारण ठाउँ ठाउँमा सडक बन्द हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव हुन थालेको छ । औषधिको अभाव हुँदा अतिआवश्यक  उपचार सेवासमेत प्रभावित हुन थालेको छ ।

एक हप्ता अगाडिको बाढीपहिराेले राजमार्ग तथा ठाउँठाउँका सडक बन्द हुँदा बझाङ, बाजुरा, बैतडी र अछाम लगायत जिल्लामा औषधिको अभाव हुन थालेको हो । 

सडक बन्द हुँदा एक हप्तासम्म निकै सास्ती भोगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो । 

उहाँकाअनुसार गएको १ गतेदेखि ६ गतेसम्म ढुवानी ठप्प हुँदा सुदूरपश्चिमका प्रायजसो सबै ग्रामीण क्षेत्रमा औषधिको अभाव भएकाे थियो । तर, अहिले केही ठाउँमा सडक खुल्न थालेकाले खुलेका ठाउँमा ढुवानी गर्न थालिएको छ । 

बन्द भएका केही सडक खुले पनि अझै धेरै सडक ठप्प छन् । यसले गर्दा ग्रामीण क्षेत्रमा अझै औषधिको अभाव हुने देखिएको छ ।

अहिलेसम्म जसोतसो काम चलाइरहेको भए पनि तत्काल ढुवानी नभएमा अवस्था गाह्राे हुन सक्ने जिल्ला अस्पताल बझाङका सूचना अधिकारी गंगाप्रसाद जोशीले बताउनुभयो । उहाँकाअनुसार सडक बन्द  हुँदा इन्धन आपूर्ति समेत रोकिएको छ । यसले गर्दा भिडियो एक्सरे, अक्सिजन प्लान्ट र कोरोनाको पीसीआर परीक्षण पनि बन्द भएको छ । यस्तै यातायात बन्द भएका कारण रेफर गर्नुपर्ने बिरामी बढी समस्यामा परेका छन् । 

सडक बन्द हुँदा एक ठाउँबाट उपचारका लागि उनीहरु अर्को ठाउँमा जान पाएका छैनन् । यस्तै, जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले सडक बन्द  भएपछि केही  दिनयता औषधिको अभाव भएको बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत १९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया