अर्को महिनादेखि ई–पासपोर्ट जारी हुने, यस्तो छ विशेषता

 कात्तिक ११, २०७८ बिहिबार १६:३९:५९ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – राहदानी विभागले आउँदो महिनादेखि ई–पासपोर्ट जारी गर्ने भएको छ ।

अहिले जारी भइरहेको एमआरपी पासपोर्टभन्दा पनि सुरक्षित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको ई–पासपोर्ट आउँदो नोभेम्बर १५ देखि राहदानी विभागले परीक्षणको रूपमा जारी गर्न थाल्ने विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले जानकारी दिनुभयो । 

अर्को महिनादेखि नै ई–पासपोर्ट जारी गर्ने तयारी भइरहेकाले अत्यावश्यक छैन भने केही समय कुरेर र्ई–पासपोर्ट नै लिन उहाँले आग्रह पनि गर्नुभयो । 

‘अत्यावश्यक काम जस्तै भिसा आइसकेको छ तर पासपोर्टको म्याद सकिएको अवस्थामा, पासपोर्ट हराएमा, वा तत्काल विदेश उपचार गर्न जानु पर्ने छ तर पासपोर्ट छैन भने त्यस्तो अवस्थामा मात्र द्रुत रूपमा एमआरपी पासपोर्ट बनाउनुहोस् तर अत्यावश्यक नभएमा केही समय कुरेर र्ई–पासपोर्ट नै लिनुहोस्,’ निर्देशक शरद राजले भन्नुभयो,‘तर एमआरपीको म्याद छ भने त्यो म्याद कायम रहँदासम्म ई – पासपोर्ट बनाउन आवश्यक छैन ।’

ई – पासपोर्टको परीक्षण नोभेम्बर १५ मा राहदानी विभागमा हुनेछ । त्यो परीक्षण सफल भएमा राहदानी विभागले ई–पासपोर्ट जारी गर्न थाल्ने छ ।

विभागले ई–पासपोर्ट जारी गर्न थालेपछि पहिलो चरणमा धेरै पासपोर्ट जारी हुने र सुगमका केही जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट जारी गर्ने तयारी रहेको विभाग निर्देशक शरद राजले बताउनुभयो ।

उहाँका अनुसार अबको एक महिना भित्र राहदानी विभागबाट ई–पासपोर्ट जारी हुनेछ भने डेढ महिनाभित्र केही जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट जारी हुन्छ । बिस्तारै सबै जिल्लाबाट ई–पासपोर्ट जारी हुनेछ । तर ई–पासपोर्ट जारी हुन थालेपछि जुन जिल्लाबाट ई–पासपोर्ट जारी हुन्छ ती जिल्लाबाट एमआरपी पासपोर्ट जारी हुने छैन ।

के हो ई–पासपोर्ट

हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो ।

विश्वका १२० भन्दा बढी देशहरूले अहिले ई–पासपोर्ट जारी गरिरहेका छन् । ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिने निर्देशक शरद राजले जानकारी दिनुभयो ।

ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो ।

एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फम्र्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् ।

विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ ।

साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ । 

लाइभ इन्रोलमेन्ट, पासपोर्ट ढिलो बन्ने समस्याको अन्त्य

ई–पासपोर्ट अनलाइनमार्फत लाइभ इन्रोलमेन्ट हुन्छ । लाइभ इन्रोलमेन्ट सिस्टम भएको हुँदा सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा गएर पैसा तिरेपछि फोटो खिच्नेदेखि अन्य काम कम्प्युटरमार्फत नै हुनेछ ।

जिल्ला प्रशासनबाट लाइभ आवेदन हुने हुँदा विभागले तत्काल पासपोर्ट प्रिन्ट गरेर जिल्ला प्रशासन कार्यालयलाई पठाउने छ । यो व्यवस्थाले जिल्ला प्रशासन कार्यालयले फारम सङ्कलन गरेर विभागमा ल्याउनु पर्ने, विभागले फेरि जाँच गरेर प्रक्रिया अघि बढाई प्रिन्ट गर्नु पर्ने र प्रिन्ट भएका पासपोर्ट पठाउँदा लाग्ने समय बचत हुनेछ । 

राहदानी विभागका निर्देशक शरद राजका अनुसार ई–पासपोर्ट जारी हुन थालेपछि आवेदन दिएको १५ दिन भित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै ई–पासपोर्ट लिन सकिनेछ । यसअघि एमआरपी बनाउँदा जस्तो डेढदेखि दुई महिना कुर्न पर्दैन । 

जिल्ला प्रशासन कार्यालयबाट मात्र नभई विदेशमा रहेका नेपाली नियोगबाट पासपोर्टका लागि आवेदन दिनेहरूको हकमा पनि यही व्यवस्था लागू हुनेछ । 

‘अहिले विदेशबाट राहदानी नवीकरणका लागि लामो समय लाग्छ किनभने, आवेदन दिन पर्‍यो, त्यसको सङ्कलन, डिप इमेल, त्यसको अन्य प्रक्रिया र प्रिन्ट गरी पठाउँदा लामो समय लागिरहेको छ,’ निर्देशक शरद राजले भन्नुभयो,‘अब ई–पासपोर्ट भएपछि यो झन्झण्ट रहँदैन र लामो समय पनि कुर्न पर्दैन ।’

म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ

ई–पासपोर्ट जारी हुँदैमा एमआरपी पासपोर्ट नचल्ने भन्ने हुँदैन । अहिले जारी भएको एमआरपीको म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ । तर त्यसको म्याद सकिएपछि भने नयाँ बनाउँदा ई–पासपोर्ट नै जारी हुन्छ ।

ई–पासपोर्ट जारी हुन थालेपछि विभागले नयाँ एमआरपी पासपोर्ट जारी गर्ने छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

4 Comments

  • Chenga tamang

    Nov. 10, 2021, 5:47 p.m.

    Passport

  •  0 Reply
  • DAN BDR BIST

    Nov. 7, 2021, 7:07 a.m.

    राम्रो छ छिटो लागू गर्नु पर्छ

  •  0 Reply
  • sherpa Pematenji sherpa

    Nov. 1, 2021, 12:14 p.m.

    इ पासपोर्टमा चाहिं द्रुत सेवा ( ३ दिन मै निकाल्ने ) उपलब्ध छ कि छैन ??

  •  0 Reply
  • Netra Lama

    Oct. 28, 2021, 4:52 p.m.

    सुचना जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद ! यहाँलाई !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया