वाग्मती प्रदेशमा मन्त्रालय फुटाएर गठबन्धनलाई भागबन्डा मिलाउने तयारी

 कात्तिक १२, २०७८ शुक्रबार १३:५९:५० | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – वाग्मती प्रदेशमा पाँच दलीय गठबन्धनलाई मन्त्रालयको भाग पुर्‍याउनका लागि मन्त्रालय फुटाउने तयारी भएको छ । हिजाे बिहीवारमात्र शपथ ग्रहण गर्नुभएका प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर गठबन्धन दललाई भागबन्डा मिलाउन लाग्नुभएको हो । 

मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिएर मात्र थप मन्त्रीहरू नियुक्त गर्ने तयारी थाल्नुभएको छ । तिहारलगत्तै विश्वासकाे मत लिने त्यसपछि मन्त्रीहरू नियुक्त गर्ने तयारी भएको हो । 

यसअघि नै सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय पनि छुट्टै बनाइएको छ । अब अरू मन्त्रालय पनि फुटाएर मात्र मन्त्रीिपरिषद् गठन गर्ने तयारी गरिएको हो । तिहारलगत्तै केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताउनुभयो । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारी गरिएको हो । पाँच दलीय गठबन्धनमा मन्त्रालयको भाग पुर्‍याउनका लागि मन्त्रालय फुटाउन लागिएको हो । 

निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामासँगै वाग्मतीमा गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन सरकार निर्माण भएको छ ।

एकीकृत समाजवादीका नेता पाण्डेको नेतृत्वमा बनेको सरकारमा सहभागी कांग्रेसले सत्तारोहणलाई अवसर र चुनौती दुवैका रूपमा हेरेको छ । ‘धेरै अवसर थोरै चुनौतीका रूपमा हामीले यसलाई लिएका छौँ’, कांग्रेस सचेतक छिरिङ दार्जे लामाले भन्नुभयो, ‘प्रतिपक्षमा बसेर लामो समय सरकारले गरेका गल्ती, कमजोरीलाई सुक्ष्म ढङ्गले औल्याइरहेका थियौँ । अब सरकारमै रहेर समस्या समाधान गर्न प्रयास गर्नेछौँ ।’ 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया