कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी बुढो भइसक्याे : ओली

 कात्तिक १३, २०७८ शनिबार १९:२४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको बताउनु भएकाे छ ।

नेकपा एमाले सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले आज काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी अशक्त भएकाे बताउनु भएकाे हाे।

उहाँले ५ वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्त पार्टीको रुपमा उभ्याएको बताउनु भएकाे छ । उहाँले कांग्रेस जस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दाबी समेत गर्नुभयाे।​

ओलीले भन्नुभयो, ‘पाँच वर्षभित्र गर्नुपर्ने गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने । त्यो पनि गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १४ वटा जिल्लामा कांग्रेसको अधिवेशन बाँकी छ । त्यो कुनै पनि हिसाबले कांग्रेसको रीति पुर्याउने कुरा हो । महाधिवेशन आयोजना गर्ने क्षमतानै कांग्रेससँग समाप्त भइसक्यो । महाधिवेशनमै गर्न नसक्ने हालतमा कांग्रेस बुढो, अशक्त भयो ।'

यस्तै ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै 'कलंक'को संज्ञा दिनु भएको छ । अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै 'कलंक'लाई फेरि संसदमा पाइला टेक्न नदिने गरी आउँदाे निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ।

उहाँले सभामुख सापकोटाले सभामुखको गरिमा मात्रै नराखेको नभइ संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भीर आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले एमाले विरुद्धको षड्यन्त्रमा सामेल भएर आफ्नो सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको दाबी समेत गर्नु भयो । उहाँले प्रचण्डको निर्देशनमा उहाँले आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अग्नि सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै 'कलंक' फेरि निर्वाचित भएर संसदमा पाइला टेक्न पाउनुहुन्छ ? सभामुखको गरिमाको त कुरै छोडौँ । कुनै मर्यादा छैन । नेकपा एमालेको विरुद्धको षड्यन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा सबै कुरालाई तिलाञ्जली दिएर आफू सरकारमा हुँदा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उहाँले गर्नुभएकाे छ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रुपमा चित्रण गर्नु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया