मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम २०७९ पुसभित्र सक्ने लक्ष्य

 कात्तिक १४, २०७८ आइतबार १३:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितकाे टाेली आयाेजना स्थलमा निरीक्षण गर्दै

काठमाण्डौ – चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ । 

आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युत् गृह भवन निर्माण आउँदो पुसभित्र र ७ दशमलव २ किलोमिटर सुरुङमध्ये खन्न बाँकी चार सय १५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । 

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि झन्डै साढे पाँच महिना नेपाल–भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गएको वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवम् आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको थियो । 

प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्शनको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरूसहितको टोलीले हिजो शनिवार निर्माण स्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ । 

टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ । 

कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर झन्डै–झन्डै बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरूको निर्माण प्रगति उत्साहजनक देखिएको बताउनुभयो । 

‘आयोजना प्रभावित तथा देशभरका नेपाली नागरिकले महँगो ब्याजदरमा ऋण काडेर भए पनि शेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढिरहेको छ भने विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन्’, घिसिङले भन्नुभयो, ‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी सधै तयार छौँ, आयोजनाको स्वामित्व लिइ टिम बनाएर काम गरौँ, अब संशोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौँ ।’ 

प्राधिकरणका उपकार्यकारी निर्देशक एवम् कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्य सम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने देखिएको बताउनुभयो । 

ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरणहरू बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । 

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरू आयोजना स्थलमा ल्याइसकेको छ । गएको वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरूमा क्षति पुर्‍याएकाे थियो । 

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक .१५ अर्ब तीन करोड दुई लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । 

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूरुमध्येमा नेपाल विद्युत् प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको एक, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको एक, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालिको एक र सिन्धु भोटेकोसी हाइड्रोपावर लिमिटेडको एक प्रतिशत सेयर रहेको छ । 
४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव ५, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको ३ दशमलव ५, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकका स्थानीयवासीको १० र सर्वसाधारणको १५ प्रतिशत) रहेका छन् ।  

कम्पनीले साधारण शेयर निष्कासन गरी रकम सङ्कलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् । 

आयोजनाबाट बर्सेनि ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रति युनिट क्रमशः आठ रुपैयाँ ४० पैसा र चार रुपैयाँ ८० पैसामा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया