मनाङको तिमाङ र सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रकाे जङ्ग...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - नेपालले पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतमा निर्यात सुरु गरेको छ ।
गएराति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि यो लाइनबाट विद्युत् आयात हुँदै आएको थियो । अब निर्यात पनि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो ।
अस्ति मात्रै नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको थियो । यो अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न थालिएको छ ।
साथै ४५६ मेगावाटको माथिल्लो तामाकाेशी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकाेशी विद्युत् गृहबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्रीको अनुमतिका लागि समेत आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि भारतीय बजार विद्युत् निर्यात सुरु भएसँगै नेपालमा जलविद्युत् विकासको ठूलो ढोका खुलेको बताउनुभयो ।
भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्नेछ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गर्ने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुनेछ ।
प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत् निर्यात हुनेछ । प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्नेछ ।
एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण बेलुका ६ बजे प्राधिकरणलाई पठाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।