भरतपुर सबस्टेशनकाे मर्मत हुँदै, अझै कम्तीमा ८ घण्टा लाग्ने

 कात्तिक १७, २०७८ बुधबार १६:३०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनको भरतपुर सबस्टेशनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत धमाधम भइरहेको छ । सबस्टेशनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा हिजाे मङ्गलवार दिउँसोदेखि बिजुली आपूर्ति बन्द छ । बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर २२ दशमलव ५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको छ । यो काम सक्न कम्तीमा पनि आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।

अर्को ट्रान्सफर्मर पोखराबाट ल्याउने काम भइरहेको छ । अहिले जडान भइरहेको ट्रान्सफर्मरको काम सकिएपछि सर्वसाधारणलाई बिजुली आपूर्ति गरिने छ ।  

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले मर्मत कार्यको स्थलगत निरीक्षण गरी काम छिटाे सक्न निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले मर्मत कार्यको अनुमगन गरी जनशक्ति थपेर जतिसक्दो छिटाे बिजुली आपूर्तिको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि श्रमिकहरू थपेर भए पनि तत्काल काम सक्नुपर्छ, तत्कालका लागि उद्योगहरूलाई दिइएको आपूर्ति कटौती गरी सर्वसाधारणलाई तिहारमा बत्ती बाल्न पाउने व्यवस्था मिलाउनुपर्छ’, घिसिङले भन्नुभयाे ।   

सबस्टेशनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा गएकाे शनिवार बिहानदेखि समस्या देखिएको थियो । सबस्टेशनमा रहेको अर्कोमा हिजाे दिउँसाेदेखि समस्या देखिएपछि भरतपुर क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको थियो ।

अहिले वैकिल्पक व्यवस्था गरी अस्पताल, खानेपानी, जिल्ला प्रशासन तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा बिजुली आपूर्ति सुरु गरिएको छ । सबस्टेशनबाट बिजुली आपूर्ति गर्ने १० वटा फिडरमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको छ ।

अहिले सबस्टेशनमा समस्या आउँदा यस क्षेत्रका झन्डै ५५ हजार ग्राहक बिजुली पाउनबाट वञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया