तिहारमा १५ करोड २० लाख रुपैयाँको माला बिक्री, ‘भारतीय मालाले नेपाली व्यवसायी तनावमा’

 कात्तिक २१, २०७८ आइतबार १६:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको तिहार पर्वमा १५ करोड २० लाख रुपैयाँ बराबरको माला बिक्री भएको छ ।

फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अनुसार तिहारमा नेपालमै उत्पादन भएका १५ करोड २० लाख ७५ हजार रुपैयाँको माला बिक्री भएको हो । यसमध्ये सयपत्री फूलका १८ लाख १५ हजार वटा माला १२ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । यस्तै मखमलीका तीन लाख पाँच हजार माला एक करोड ६७ लाख रुपैयाँमा, गोदावरी फूलका १५ हजार माला ५२ लाख रुपैयाँमा र मखमलीका एक लाख वटा माला ३० लाख रुपैयाँमा नेपाल बाहिर निर्यात भएका छन् ।

अघिल्लो वर्षको तिहारमा झन्डै १६ लाख वटा मालाको मात्रै कारोबार भएकोमा यो वर्ष २१ लाख ३५ हजार वटा मालाको कारोबार भएको तथ्याङ्क प्राप्त भएको फ्लाेरिकल्चर एसोसिएशनले जनाएको छ । सयपत्री फूलको प्रति माला ६० देखि ८० रुपैयाँसम्म र मखमली फूलको प्रति माला ४० देखि ७० रुपैयाँसम्म बजारमा कारोबार भएको पाइएको छ ।

मौसम प्रतिकूलताका कारण उत्पादनमा कमी आएकाले सयपत्री फूलको मालाको ८५ प्रतिशत माग नेपालमै उत्पादित फूलले परिपूर्ति भएको र १५ प्रतिशत आयात भएको एसोसिएशनले जनाएको छ ।

गैरपुष्प व्यवसायीहरूबाट समन्वयविना नै तिहार सुरु हुनु १५/२० दिन अघि नै ठूलो मात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी 'कोल्ड स्टोर' मा भण्डारण गरेका कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको झन्डै ३० प्रतिशत ओगटेको तथ्याङ्क रहेको छ । भारतीय मालाका कारण १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पुष्प उत्पादक व्यवसायीहरूको गुनासो रहेको छ ।

आयातित फूलका कारण नेपाली उत्पादनले बजार नपाउँदा हतोत्साही भइ यसमा लागेका व्यवसायीहरू पलायन हुने हो कि भन्ने चिन्तासमेत बढ्न गएको एसोसिएशनले जनाएको छ ।  

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया