सर्टिफिकेट धितोमा अहिलेसम्म एक सय ४८ जनालाई ऋण, यस्तो छ सहुलियतपूर्ण कर्जाको नालीबेली

 कात्तिक २३, २०७८ मंगलबार १३:५९:५३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम अन्तर्गत अहिलेसम्म एक लाख २९ हजार वटा कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कार्यक्रम सुरु भएयता अहिलेसम्म एक लाख २९ हजार ६ सय ८० वटा कर्जामार्फत दुई खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ ऋण स्वीकृत भएको छ । यसमध्ये एक करोड रुपैयाँभन्दा धेरै कर्जा लिने ऋणीको सङ्ख्या एक हजार आठ सय ९० जना रहेको छ । सहुलियतपूर्ण कर्जामा प्रवाह भएको एक खर्ब ९८ अर्ब ९२ करोड रुपैयाँ असुल हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि सरकारले नौ अर्ब १५ करोड २१ लाख रुपैयाँ ब्याज अनुदान दिएको राष्ट्र बैंकले जनाएको छ । 

व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा अन्तर्गत अहिलेसम्म ५३ हजार सात सय ५५ ऋणीको एक खर्ब ४९ अर्ब ३१ करोड रुपैयाँ ऋण स्वीकृत भएको छ । यसमध्ये पाँच हजार नौ सय ९६ जनाले विना धितो तीन अर्ब ६२ करोड रुपैयाँ ऋण लगेका छन् । यो शीर्षकमा एक खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ ऋण उठ्न बाँकी रहेको छ । 

प्रमाणपत्र धितो राखेर पाइने शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत एक सय ४८ जनाको सात करोड ७८ लाख ४३ हजार रुपैयाँ ऋण स्वीकृत भएको छ । यो शीर्षकबाट ६ करोड २२ लाख रुपैयाँ ऋण असुल हुन बाँकी रहेको छ । 

महिला उद्यमी कर्जा अन्तर्गत अहिलेसम्म ७३ हजार ७८ जना महिलाका लागि ७६ अर्ब २८ करोड ३७ लाख रुपैयाँ ऋण स्वीकृत भएको छ । यो शीर्षकको कर्जाबाट ६८ अर्ब ३१ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ ।

विदेशबाट फर्किएका युवा परियोजना कर्जा शीर्षकमा नौ सय २८ जना ऋणीले ७६ करोड ४२ लाख रुपैयाँ ऋण स्वीकृत भएको छ । यो शीर्षकको कर्जामा ६४ करोड ४६ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ । 

दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत एक हजार ७४ जनाको ७३ करोड ९४ लाख रुपैयाँ ऋण स्वीकृत भएको छ । यो शीर्षकमा ६३ करोड रुपैयाँ बाँकी कर्जा रहेको छ । 

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा अन्तर्गत एक सय ३८  जनाको चार करोड ५८ लाख रुपैयाँ ऋण स्वीकृत भएको छ । यो शीर्षकमा तीन करोड ३३ लाख रुपैयाँ कर्जा बाँकी रहेको छ ।

भूकम्प पीडितको निजी आवास निर्माण कर्जा अन्तर्गत दुई सय २८ जनाले सात करोड ५५ लाख रुपैयाँ ऋण लिएकामा पाँच करोड आठ लाख रुपैयाँ बाँकी कर्जा रहेको छ । 

कपडा उद्योग सञ्चालनका लागि दुई सय ८२ ऋणीको चार अर्ब ११ करोड ९६ लाख रुपैयाँ स्वीकृत भएको छ । यो शीर्षकको कर्जामा दुई अर्ब ३६ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ ।

प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि दुई जनाले चार लाख रुपैयाँ ऋण लिएकामा तीन लाख ३३ हजार उठ्न बाँकी रहेको छ । 

युवा वर्ग स्वरोजगार कार्यक्रम अन्तर्गत अहिलेसम्म १७ जनाले ८३ लाख रुपैयाँ ऋण लिएकामा ७४ लाख १० हजार रुपैयाँ उठ्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम अन्तर्गत अहिलेसम्म प्रवाह भएको कर्जाको विस्तृत विवरण : 

देशमै उद्यमशीलता बढाउन र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न भन्दै सरकारले २०७५ सालदेखि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम थालेको थियो । संशोधन हुँदै गएको कार्यविधिअनुसार सहुलियतपूर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा पाइन्छ । यसरी दिइने सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशतभन्दा बढी नहुने गरी ब्याज दर कायम गर्नुपर्ने तथा ब्याज, सूचना शुल्क, बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरू शुल्क लिन नपाइने व्यवस्था छ ।

यस्तो छ सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि :
 

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया