समन्वय समितिले सरकारकाे काममा हस्तक्षेप गर्दैन : नेता पाैडेल

 कात्तिक २३, २०७८ मंगलबार १८:५१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताउनुभएको छ ।

आज मङ्गलवार हामीसँगकाे कुराकानीमा वरिष्ठ नेता पौडेलले सरकार नागरिक र संसद्प्रति उत्तरदायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनै पनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो । वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रूपमा प्रयोग गर्नु नहुने बताउनुभयो । समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरूका बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई सङ्गठित राख्नु र समझदारी कायम राख्नु रहेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘कसैले उपयोग गर्ने अथवा सरकारको काममा दखल दिने रूपमा यसलाई हतियार बनाउने कुरा हामी मान्दैनौँ । यसले सरकारको काममा हस्तक्षेप गर्ने, दखल गर्ने काम गर्नु हुन्न । यसलाई केवल व्यवस्थामाथि आइपर्ने समस्याहरू जे हुन्छन् त्यसमा मात्रै देशलाई सजग राख्ने हो । पाँच दललाई सजग राख्ने हो । पाँच दललाई सङ्गठित राख्ने हो ।’

नेता पाैडेलले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रूपमा आफू रहे पनि नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताउनुभयो । समग्र व्यवस्थाको हित र रक्षाका निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भए पनि पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उहाँले प्रष्ट पार्नुभयाे । आउँदाे महाधिवेशनमा खुल्लम खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले समन्वय समितिमा देशमा अहिले देखा परेका सङ्कट र सङ्कट समाधानका निम्ति गठबन्धनले अपनाउनुपर्ने सावधानी र सजगताको सम्बन्धमा छलफल गरिने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया