लिपुलेक, लिम्पियाधुरा क्षेत्रकाे पनि जनगणना गरिने

 कात्तिक २४, २०७८ बुधबार १५:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भाेलि बिहीवारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भाेलि बिहीवारदेखि सुरु हुन लागेकाे हाे ।

आज बुधवार पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाका लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताउनुभयो । जनगणनाकाे अवधि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म १५ दिनको हुने उहाँले बताउनुभयो । जनगणना सञ्चालन गर्नका लागि देशभरमा सात प्रदेश जनगणना कार्यालय, ८७ ठाउँमा जिल्ला जनगणना कार्यालय र तीन सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । काठमाण्डाैमा भने पाँच वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसङ्ख्या भएका जिल्लाहरू– मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीलगायतका जिल्लामा भने दुई/दुई वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो । जनगणनाका लागि देशभर ४० हजार गणक र आठ हजार पाँच सय सुपरीवेक्षक परिचालन हुने उहाँले बताउनुभयो ।

तथ्याङ्क विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रूपमा आवतजावत गर्न दिएमा भौतिक रूपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतको प्रयोग गरेर जनगणना गरी त्याे क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारत सरकारबाट सहज आवतजावत दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी भाैतिक रूपमै उपस्थित भएर त्यहाँ जनगणना गर्छाैँ । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जानकारी हामीले अन्य स्रोतहरूबाट र त्यहाँसँग सम्बन्धित अन्य व्यक्तिहरूबाट या नजिक हाम्रो पहुँच भएको ठाउँबाट लिँदा सात सयदेखि आठ सयसम्मको हाराहारीमा जनसङ्ख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ । अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइट प्रयोग गरेर ती क्षेत्रमा कति घर छ भन्ने त सजिलैसँग गन्न गर्न सक्छौँ । एउटा घरमा औसत परिवार कति बस्दो रहेछ भन्ने विवरण लिन पनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमान  हामी निकाल्न सक्छौँ । त्यो अनुमानसहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’

 याे पनि पढ्नुहाेस्

 

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले सङ्घीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्त्व रहेको बताउनुभयो । सबै तहमा चाहिने खण्डीकृत विवरण जनगणनाबाट आउने बताउनुभयो । आउँदा दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रूपमा रहने उहाँले बताउनुभयो । 

काठमाण्डाै महानगरपालिकासहित काठमाण्डाैका ६ नगरपालिकामा डिजिटल पद्धतिमा आधारित 'क्यापी' विधि प्रयोग गरी ट्याबलेटबाट विवरण सङ्कलन गरिने तथ्याङ्क विभागले जनाएको छ । साथै विदेशमा रहेका नेपाली कुटनीतिक नियोगहरूमा ई–सेन्सस विधि अपनाइ वेबसाइट एप्लिकेशहनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरूको जनगणना सङ्कलन गरिने भएको छ । यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया