कांग्रेस महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने, विधान महाधिवेशन छुट्टै हुने

 कात्तिक २८, २०७८ आइतबार १९:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औँ महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । बूढानीलकण्ठमा रहेकाे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज आइतवार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति देउवाको नेतृत्वमा १४ औँ महाधिवेशनको मूल तयारी समिति गठन गरेको हो । 

पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, सङ्घीय संसद्का सदस्यहरू, सात वटै प्रदेश संसदीय दलका नेताहरू महाधिवेशन मूल तयारी समितिको सदस्य रहने निर्णय पनि बैठकले गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ । १४ औँ महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने र त्यसबाट निर्वाचित हुने केन्द्रीय कार्य समितिले पार्टीको नीति र कार्यक्रममा लागि छुट्टै महाधिवेशन गराउने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले नीतिको अधिवेशन र नेतृत्व चयनको अधिवेशनलाई फरक–फरक गर्ने भन्ने विषय प्रस्तावित गरिएको छ । पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी तहमा सर्वसम्मतिले पारित भएको विषय केन्द्रीय समितिले यसलाई पक्कै अनुमोदन गर्नेछ । त्यसअनुसार नेपाली कांग्रेसको यो १४ औँ महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनको रूपमा लिएर जाने र महाधिवेशनबाट आएको निर्वाचित केन्द्रीय कार्यसमितिले पार्टीको नीति र कार्यक्रम पारित गरेर जाने हामीले तय गरेका छौँ । महाधिवेशनको तयारीका लागि पार्टीका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरिएको छ । महाधिवेशन गर्न अर्थ सङ्कलनको विषय आवश्यक पर्छ, यसका लागि पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति निर्माण भएको छ र संयोजकले त्यसलाई पूर्णता दिने गरी हामीले निर्णय गरेका छौँ । त्यस्तै भोजन तथा आवासको सम्बन्धमा सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापनका सम्बन्धमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रचार प्रसार समितिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाण्डाै जिल्ला सभापति, ललितपुर जिल्ला र भक्तपुर जिल्लाका सभापति सदस्य रहने गरी काठमाण्डाै जिल्लाका सभापति संयोजक । त्यस्तै स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङ र स्वयम् सेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना र यो विभिन्न समितिमा संयोजकहरूले आवश्यक्ताअनुसार सदस्यहरू चयन गर्नु हुनेछ ।’

नेपाली कांग्रेसले सात वटै प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका नेताहरूलाई जिम्मेवारी तोेकेको छ । जसअनुसार प्रदेश १ मा प्रदेश अधिवेशन सम्पन्न गर्न पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ भने अधिवेशन विराटनगरमा आयोजना हुनेछ ।

प्रवक्ता शर्माका अनुसार प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ र त्यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य रमेश रिजाललाई दिइएको छ । वाग्मती प्रदेशको संयोजक पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र ठाउँ हेटौँडा तोकिएको छ । गण्डकी प्रदेशको प्रदेश अधिवेशनका लागि संयोजकमा पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र ठाउँ पोखरा तोकिएको छ । लुम्बिनी प्रदेशको संयोजक बालकृष्ण खाण र ठाउँ बुटवल, कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गराउन केन्द्रीय सदस्य जीवनबहादर शाही संयोजक र ठाउँ सुर्खेत तोकिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न गराउन दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको र ठाउँ धनगढी तय गर्ने काम पनि पार्टी केन्द्रीय कार्यसमितिको बैठकले गरेको प्रवक्ता शर्माले बताउनु भयो । उहाँले तोकिएका संयोजकहरूले प्रदेश अधिवेशनको अध्यक्षता गर्ने र त्याे अधिवेशनमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेश सभाका संसदीय दलका नेता र प्रदेश सभाका सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरू, संयोजक र उपसंयोजकहरू, नगरपालिकाका मेयर र उपमेयरहरू, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुनेछन् । 

अहिले पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बैठकले महाधिवेशनसँग सम्बन्धित अन्य विषयमा थप निर्णय गर्ने पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया