प्रधानन्यायाधीशकाे विज्ञप्ति अलमल्याउन फालिएकाे ‘पासा’ मात्रै हाे : पूर्वन्यायाधीश फाेरम

 कात्तिक २९, २०७८ सोमबार १७:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वार्ताको लागि आव्हान गरेको विज्ञप्ति भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको बताएको छ ।  

पूर्वन्यायाधीश फोरम नेपालले आज सोमवार एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेको विज्ञप्ति न्यायको विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको बताएकाे हो । प्रधानन्यायाधीशले निकालेकाे विज्ञप्ति न्यायालयको हितमा नरहेको फोरमले ठहर गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७८/७/२९ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाद्वारा वार्ताका लागि आह्वान गरेको विज्ञप्ति न्यायकाे विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो । यो न्यायालयको हितमा रहेको देखिँदैन ।’   

पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्तिमा समस्या समाधानका निम्ति ‘आइसब्रेक’ गर्ने खालको कुनै कुरा नआएको टिप्पणी गर्नुभयो । प्रधानन्यायाधीशकाे विज्ञप्ति अलमल्याउनका निम्ति फालिएको पासा मात्रै भएको उहाँको भनाइ छ । 

अध्यक्ष सिंहले भन्नुभयो, ‘त्यो विज्ञप्तिमा ‘आइसब्रेक’ गर्ने किसिमको कुनै कुरा हामीले पाएनौँ । किनभने उहाँले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्छु भन्नुभयो, यो कुरा त पहिलेदेखि नै छ । वास्तवमा उहाँले मात्रै लागू गर्ने होइन, यो त उहाँको टिमले लागू गर्ने हो । टिमप्रति उहाँ उत्तरदायी नदेखिएकाले, केवल मै हुँ सर्वेसर्वा भन्ने लागेकाले यसबाट कुनै फाइदा होलाजस्तो हामीलाई लागेको छैन । अलमल्याउने पासा फ्याँकेको मात्रै हो ।’

फोरमले प्रधानन्यायाधीश जबराले आचार संहिता उल्लङ्घन गरेका कारण महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल समक्ष संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन माग गरेको छ ।   

प्रधानन्यायाधीश जबराको हठ र निरङ्कुशताका कारण न्यायालयमा सङ्कट उत्पन्न भएको भन्दै जबरा पदबाट अविलम्ब बर्हिगमन हुनुपर्ने माग पूर्वन्यायाधीश फोरमले राखेको छ । पूर्व न्यायाधीश फोरम नेपालका सदस्य राजेन्द्रकुमार भण्डारीले न्यायालयमा बिचौलिया भित्राउने मुख्य नाइके नै प्रधानन्यायाधीश जबरा भएको आरोप लगाउँदै जबराको बर्हिगमन आवश्यक ठहरिएको बताउनुभयो । 

फोरमले वैधानिक बाटोबाट अदालत प्रवेश गर्न नसक्ने, प्रहरीको संरक्षण खोज्ने, जिम्मेवारीबाट पन्छिने प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने ठहर गरेको जनाएको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया