शहीद परिवारको आर्थिक पक्ष सबल बनाउन छिन्ताङवासीको माग

 मंसिर १, २०७८ बुधबार ११:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – धनकुटाकाे छिन्ताङका शहीद परिवारहरुले आफ्नाे आर्थिक पक्ष सबल बनाउन सरकारसँग माग गरेका छन् । छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ । निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको दिन (कार्तिक २९) मा छिन्ताङमा शहीद स्मृति दिवस मनाइन्छ।

परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जना शहीद बनेका खोपु–छिन्ताङ घटनामा मारिएका शहीद परिवारले उठाएका माग पूरा नभएको बताउँछन् । छिन्ताङवासी आफूहरुले परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानप्रति गर्व भए पनि राज्यस्तरबाट गाउँको समृद्धि र सहिद परिवारका लागि अझै थप केही होेस् भन्ने चाहना रहेको शहीद परिवारका सदस्य झलकमान राईले बताउनु भयो ।

‘छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर एक रोजगार, राष्ट्रिय शहीदको कुरा, पारा नमिलाएर घोषणा गरिएको छ, शेरबहादुर देउवाले घोषणा गरेको शहीद मान्ने गरेको छैनौँ' राईले भन्नुभयो, 'शहीद परिवारको आर्थिक पक्ष सबल बनाइदिनु पर्छ र त्यसका लागि सरकारले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्छ ।’

त्यस्तै शहीद परिवारका सदस्य गंगाबहादुर राईले सरकारले शहीद परिवारलाई मध्यनजर गरेर विद्यालय र केही सुविधा दिए पनि केही मागहरु पूरा हुन बाँकी रहेकाे बताउनुभयाे । छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर, एक रोजगार, राष्ट्रिय शहीद बनाउनु पर्ने, र शहीद परिवारको आर्थिक पक्ष सबल बनाउन सरकरले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्ने शहीद परिवारका सदस्यहरुको माग छ ।

त्यस्तै जनप्रतिनिधिहरु भने शहीद परिवारलाई उनीहरुको सबै माग पूरा नभए पनि धेरै मागहरु पूरा गरिसकेको बताउँछन् । कार्यक्रममा पुग्नुभएका नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीका अध्यक्ष राजेन्द्रकुमार राईले शहीदहरुकै कारण छिन्ताङ विकसित भइरहेको भन्दै जनप्रतिनिधिहरुले शहीद परिवारका सबै सदस्यलाई रोजगारी दिने काममा लागि परेको बताउनुभयो । 

शेरधर राई नेतृत्वको प्रदेश १ सरकारले खोकु–छिन्ताङका १६ शहीद परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत अनुदान दिएको थियो । अहिलेसम्म शहीद परिवारका लागि ८ वटा घर निर्माण भइसेकेको छ । त्यहाँका जनता खान नपाएपछि मझियाहरुको ढुकुटीबाट टिप्पणी उठाएर अन्न जनतालाई बाँडिएको थियो । त्यसविरुद्ध पञ्चायती शासक वर्गले यो काण्डमा विभिन्न व्यक्तिहरुमाथि डकैतीको मुद्दा चलाएको थियो ।

स्थानीय पञ्चहरुले प्रशासनसँग गुहार मागेपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा अञ्चलाधीश, प्रहरी प्रशासनका प्रमुख र सेनाले यस क्षेत्रका नागरिकमाथि दमनको नीति लिएको थियो । अन्ततः २०३६ सालमा छिन्ताङ हत्याकाण्ड भएको थियो । जसमा १६ जनाको हत्या भएको थियो । हत्याकाण्डमा परी मारिएका १६ जनालाई २०७४ सालमा तत्कालीन सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो । 

 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया