वाग्मती प्रदेश : संसदीय खुलापन र पारदर्शितामा असल अभ्याससम्बन्धी अन्तरक्रिया

 मंसिर १, २०७८ बुधबार २०:३६:२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सभा सचिवालयमा आज बुधवार संसदीय खुलापन र पारदर्शितामा असल अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले यहाँको संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको बताउनुभएको छ । यसअघि संसदमा भएका कमजोरी व्यक्तिको रहेको बताउँदै उहाँले भन्नुभयो, ‘पहिले भएका कमजोरी सुधार गर्दै जानेछौँ । यस्ता कमजोरी कसैबाट भएको भए व्यक्तिले गरेका हुन् । सिङ्गो संस्थाले कमजोरी गरेको होइन ।’ 

वाग्मती प्रदेश सभामा पक्षपातको कुनै काम नभएको उहाँले बताउनुभयो । सबैलाई समान व्यवहार गरिएको उहाँको भनाइ छ । प्रदेश सभामा हिजोका दिनमा भन्दा धेरै सुधारका काम भइरहेको बताउँदै सभामुख श्रेष्ठले भन्नुभयो, ‘केही प्राविधिक समस्या र भवनका कारण समस्या परेको हुन सक्छ, अब यसलाई सच्याउँदै अगाडि बढ्नेछौँ ।’ 

प्रदेश सभाबाट पास भएका ऐनहरू कार्यान्वयनमा गएको र केही ऐन आवश्यकताअनुसार संशाेधन भएको उहाँले बताउनुभयो । प्रदेश सभामा बजेट पास गराउने बेलामा भन्दा बाहेक अरू बेलामा दलहरूबीचमा समन्वयबाट नै विधेयकहरू पास भएको उहाँले भन्नुभयाे । प्रदेश सभामा संस्थागत संरचना नहुँदा केही समस्या परे पनि नागरिकको पहुँचमा भने रहेको सभामुख श्रेष्ठले बताउनुभयो । पत्रकारले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा बोल्दै उहाँले प्राविधिक जनशक्ति नहुँदा समस्या बढेको बताउनुभयो । 

कार्यक्रममा प्रदेशसभाका निमित्त सचिव विनोद अमात्यले प्रदेश सभाले अहिलेसम्म गरेका कानुनका विषयमा जानकारी गराउनुभएको थियो । अहिलेसम्म प्रदेश सभाबाट ६२ वटा ऐन संशाेधनसहित गरेर पारित भएको अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा ८२ वटा कानुन निर्माण गर्नुपर्ने पहिचान भएको छ र पहिचान भएर पनि बन्न बाँकी ऐन ४५ वटा रहेका छन् । 

कार्यक्रममा भर्चुअल विधिमार्फत सार्वजनिक लेखा समितिका सभापति न्युछेनारायण श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति माधव पौडेल सहभागी हुनुभएको थियो । त्यसैगरी प्रदेश सभाका विभिन्न समितिका सचिवहरूको सहभागिता रहेको थियो । पत्रकारहरूसँगको अन्तरक्रियामा नागरिक दैनिकका वरिष्ठ संवाददाता ईश्वरी सुवेदीले संसदमा खुलापन र हाम्रो अभ्यासका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

प्रदेश सभामा खुलापनलाई ध्यान दिइएन : पत्रकार

वाग्मती प्रदेश सभामा खुलापनलाई ध्यान नदिएको मकवानपुरका सञ्चारकर्मीहरूले गुनासाे गरेका छन् । कार्यक्रममा वाग्मती प्रदेश पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष प्रताप विष्टले प्रदेश सभामा खुलापनको सबैलाई महसुस हुन दिनुपर्ने बताउनुभयाे ।  

सभामुखको समन्वयकारी भूमिका हुँदा हुँदै पनि खुलापन हुन समस्या भएको बताउँदै उहाँले भन्नुभयो, ‘प्रदेश सभाभित्र मिडियालाई सहज रूपमा रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन जरुरी छ । समितिका बैठकमा पत्रकारलाई बोलाउने चलन छैन । यसमा पनि बोलाएर राख्न मेरो सुझाव छ ।’ 

कार्यक्रममा वाग्मती प्रदेश पत्रकार महासङ्घका उपाध्यक्ष रूपेश दुलालले प्रदेश सभामा विगतका तुलनामा अहिले सहज भएको बताउनुभयो । संसदलाई अहिलेको भन्दा पनि अझै खुलापन बनाउनैपर्ने उहाँकाे भनाइ छ । 

कार्यक्रममा जनपत्र मिडिया प्रालि मकवानपुरका अध्यक्ष हरि हुमागाईँले संसदीय खुलापन र पारदर्शितामा असल अभ्यासको सुरुवात गर्नकै लागि कार्यक्रम गरिएको बताउनुभयो । संसदको पुरानो भवनका कारण पनि सबैखालका समस्या भएकाले अब नयाँ भवन निर्माण भएपछि धेरै खालका समस्या पनि समाधान हुने उहाँले बताउनुभयो । कार्यक्रममा प्रेस युनियन वाग्मती प्रदेशका संयोजक राममणि दाहाल, नेपाल टेलिभिजन मकवानपुरका संवाददाता दीपेन्द्र रोक्कालगायतले संसदलाई खुलापन दिनुपर्नेमा जोड दिनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया