काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम धुम्मियो, तत्काल पानी भने नपर्ने

 मंसिर २, २०७८ बिहीबार ७:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो अस्ति बिहानै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पारिलो घाम लागेको थियो । तर, आज भने मौसम धुम्मिएको छ ।

अहिले उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएकाे छ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नभएको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो।

आज काठमाण्डौको न्यूनतम तापक्रम भने बढेको छ । हिजो बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज ९ डिग्री सेल्सियस पुगेको छ । गएराति आकाश नखुलेकाले न्यूनतम तापक्रम बढेको हो ।

रातको समयमा बादल लागे न्यूनतम तापक्रम बढ्छ । न्यूनतम तापक्रम बढे पनि आज अधिकतम तापक्रम भने घट्ने मौसमविद्ले बताएका छन् । मौसमविद् बासीका अनुसार काठमाण्डौको आजको अधिकतम तापक्रम २५ देखि २६ डिग्री सेल्सियसमा झर्ने सम्भावना छ ।

आज पारिलो घाम लाग्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम घट्ने भएको हो । हिजो अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो । आज काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

प्रदेश-१ र प्रदेश-२ को भने मौसम सफा रहने मौसमविद् बासीले बताउनुभयो  । उहाँकाअनुसार अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पर्सि शनिवारसम्म नै यो प्रणालीको प्रभाव नेपालमा रहने बासीले बताउनुभयो ।

यो प्रणालीको प्रभावकै कारण प्रदेश-१ र २ को मौसम भोलि भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा मौसमको अवस्था बुझेर मात्रै जान पनि पर्वतारोहीलाई मौसमविद्को सुझाव छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया